तयारी पूरा, बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं / पुस २४ गते । सोमबार अपराह्न १ बजेका लागि आह्वान भएको सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको हो । पहिलो बैठकमा सबै दलबाट संसदीय दलका नेताले सम्बोधन गर्नुहुनेछ ।

अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको उहाँले बताउनुभयो । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक भोलि एकै समयमा बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सोही बैठकको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीय संसद्को भोलिदेखि अधिवेशन सुरु हुँदैछ । दुवै सभाका बैठकहरू एकसाथ १ बजेबाट सुरु हुन्छ ।’ सङ्घीय संसद् सचिवालयले यसको सन्दर्भमा गर्नुपर्ने तयारीहरू पूरा गरिसकेको उहाँको भनाइ छ । ‘अहिले केही नयाँ दलहरू संसदमा आएकाले दलका लागि आवश्यक पर्ने संसदीय दलका कार्यालयहरू हामीसँग थिएनन् । न ठाउँ थियो, न हामीसँग पर्याप्त स्रोत, साधन । तत्काल हामीले नेपाल सरकारसँग समन्वय गरेर केही संरचनाहरू बनायौँ’ उहाँले भन्नुभयो । ती दलबाट निर्वाचित हुने पदाधिकारीहरूलाई कानुन बमोजिम सवारी साधन उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ । त्यसका लागि पर्याप्त सवारी साधन नभएको उहाँले बताउनुभयो । सरकारसँग त्यसबारे पहल भइरहेको उहाँको भनाइ छ ।

“सबै हिसाबले हामी अधिवेशनका तयारीको काम पूरा गरेका छौँ । कर्मचारीहरूलाई खटाउने व्यवस्था भएको छ । अरू साजसज्जाका कुराहरू, सरसफाइका कुराहरू हामीले पूरा गरेका छौँ” सहायक प्रवक्ता धमलाले भन्नुभयो । राष्ट्रियसभा अन्तर्गत पनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको उहाँले बताउनुभयो ।

सङ्घीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको उहाँले बताउनुभयो । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ । सहायक प्रवक्ता धमलाले भन्नुभयो, ‘१२ वटा दलहरूलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्नेछ ।’

सबै दलहरूलाई फ्रन्टमा नेता रहने र पछाडि अरू सदस्यहरू रहनेगरी सिटको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको उहाँले जानकारी दिनुभयो । सङ्घीय संसदमा सांसदहरूले पनि ई–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रियसभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter