• Tuesday, April 22, 2025

पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छ: सचिव मरासिनी

काठमाडौं, पुस २६ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मरासिनीले भन्नुभयो, “विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रूपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रूपमा विकास गर्न सक्नुपर्छ ।”

आज (मङ्गलबार) नेपाल आयल निगमले ५३औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले पेट्रोल पम्पहरूलाई पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन पनि सम्बद्ध व्यवसायीसँग आग्रह गर्नुभयो ।

आफू समितिमा आएको छोटो समय मात्रै भए पनि बाहिर रहँदा समेत निगमसँग नजिक रहेर काम गरेको बताउँदै अध्यक्ष मरासिनीले निगममा रहँदा आफूले यो क्षेत्रको थप सुधारका लागि पहल गर्ने बताउनुभयो । सबै गतिविधि पारदर्शी रूपमा गर्दा पनि निगममाथि प्रश्न उठ्ने गरेको भन्दै उहाँले यसप्रति सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

यद्यपि सुधारको विकल्प थप सुधारबाहेक अरू केही नभएको उहाँको भनाइ छ । उहाँले निगमको कारोबारलाई नगदमा आधारितभन्दा लगानीमा आधारित बनाउनुपर्नेमा समेत जोड दिनुभयो । यसका लागि सृजनशील सोचको जरुरत भएको भन्दै उहाँले आफू निगममा रहँदासम्म यसका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले हाल पाइपलाइनबाट डिजेल मात्रै आइरहेकोमा पेट्रोललाई पनि पाइपलाइनबाटै ल्याउने प्रक्रिया अघि बढेको बताउनुभयो । साथै पोखरालगायत देशका विभिन्न डिपोहरूमा निर्माणाधीन भर्किटल ट्याङ्कहरूको निर्माण अन्तिम चरणमा पुगेको र इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) सिस्टम पूर्ण कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले एक वर्षमा करिब रु ५० अर्बको नोक्सानी व्यहोरेको भन्दै पछिल्लो समय मूल्य घट्दा केही राहत भए पनि अझै पनि भारतीय आयल कर्पोरेसनलाई रु ११ अर्ब तिर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै तिर्न बाँकी रहेको जानकारी दिनुभयो ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताउनुभयो । “पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु हो भनेर राज्यले छुटाउनुपर्छ । राजनीतिक वस्तुको रूपमा प्रयोग गर्ने हो भने अनुदान दिनुपर्छ, आर्थिक वस्तुको रूपमा मान्ने हो भने यसमा राजनीतिकरण गर्नुहुन्न”, उहाँले भन्नुभयो ।

पेट्रोलियम ढुवानी राष्ट्रिय महासङ्घका महासचिव विश्व अर्यालले पनि पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रूपमा हेर्न नहुने बताउनुभयो । उहाँले डिजेलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रूपमा प्रयोग नहुनेमा जोड दिनुभयो ।

त्यस्तै, नेपाल एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष कुशकुमार मल्लीले एलपी ग्यासको मूल्यजस्तै उद्योगी तथा ढुवानीकर्ताको कमिसनलाई समेत स्वचालित बनाउनुपर्ने बताउनुभयो । निगमले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेको उहाँको गुनासो थियो । उहाँले भारतबाट आइरहेको एलपी ग्यासको गुणस्तरमा प्रश्न उठाउँदै यसलाई नियन्त्रण गर्न समेत आग्रह गर्नुभयो ।

“आईओसीले भरेर पठाउने ग्यास बुलेटमा कहिलेकाहीँ पानी भरिएर आएको देखियो । उद्योगहरूले रिफिल गर्दा यसको असर उपभोक्तासम्म पुग्यो,” उहाँले भन्नुभयो, “यसमा निगम र गुणस्तर तथा नापतौल विभागको समेत ध्यान जाओस् ।”

वार्षिकोत्सव आयोजित कार्यक्रममा निगमको वार्षिक प्रकाशन ‘प्रभात’ विमोचन गरिएको थियो । कार्यक्रममा रु ५१ हजार राशिको सुवर्णविक्रम स्मृति पुरस्कार तथा पाँच जनालाई २५र२५ हजार राशिको ‘निगम प्रोत्साहित पुरस्कार’ वितरण गरिएको थियो । कार्यक्रममा निगममा २० वर्षदेखि निरन्तर काम गर्दै आउनुभएका कर्मचारीलाई दीर्घसेवा पदक तथा विभिन्न खेलकुद प्रतियोगितामा विजयी भएका कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter