• Tuesday, April 22, 2025

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता हो : अर्थमन्त्री पौडेल

काठमाडौं, फागुन ६ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको बताउनुभएको छ।

मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्रचारप्रसार सहयोग पुर्‍याउने भन्दै उहाँले भन्नुभयो, “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई शनिबार सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो।

दुई लाख ५० हजार अवलोकनकर्ताका साथै पाँच करोडको कारोबार गर्दै नेपाल १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबार सम्पन्न भएको हो।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदारहँदै पनि उपप्रधान तथा अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताउनुभयो।

मेलाले देशभरकै उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उहाँले बताउनुभयो। सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाइ थियो।

धेरै समस्या हुँदाहुँदै पनि मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै मेला संयोजक शोभा गुरुङले भन्नुभयो, “देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरूले गरेको योगदानको उचित कदर हुनसकेको छैन।”

मेलामा कति खरिद–बिक्री भयो, कति मान्छे आए भन्नुभन्दा पनि स्वदेशी वस्तुको बजारीकरण कति हुनसक्यो त्यो महत्त्वपूर्ण रहेको मेला संयोजक गुरुङको भनाइ छ। सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता गरेकाले र सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने उहाँको भनाइ थियो।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक यही फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो।

महोत्सवमा प्राकृतिक रेसाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो।

प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डु, फापरको मःम, मार्सीको खिर, चिनोको सेल उपभोक्ताले निकै मन पराएका थिए।

यसैगरी राउटे समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण रहेको थियो।

मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको थियो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter