आईसीसी लिग–२ : नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं, फागुन ६ गते । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले हरायो ।

जारी लिगमा नेपालको यो लगातार तेस्रो जित हो । जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी शतकीय साझेदारी गर्नुभयो । आसिफले सर्वाधिक ८१ रन बनाउनुभयो । उहाँले ९८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नु भएको हो । ज्ञानेन्द्रले ७४ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाउनुभयो ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले एक सय ३९ रनको कीर्तिमानी साझेदारी गर्नुभयो । यो नेपालबाट एकदिवसीयमा उच्च साझेदारी हो । यसअघि कुशल भुर्तेल र रोहित पौडेलको नाममा एक सय ३३ रनको शतकीय साझेदारी थियो । उहाँहरुले पनि नामिबियाविरुद्ध नै उक्त शतकीय साझेदारी गर्नुभएको थियो ।

यस्तै कुशल मल्लले ६२ रनको अर्धशतकीय पारी खेल्नुभयो । मल्लले ४९ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन जोड्नु भएको हो । कप्तान रोहित पौडेलले ३९ रन बनाउनुभयो ।बलिङमा नामिबियाका रुबेल ट्रुम्पलम्यानले तीन विकेट लिनुभयो । बर्नाल्ड स्कर्टजले दुई तथा टाङ्गेनी लुङ्मेनी र पीक्की या फ्रान्सले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रन बनाउनुभयो । उहाँले ६३ बलमा ११ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै पीक्की या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, रुबेल ट्रुम्पलम्यानले २४, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले १५/१५ रन जोड्नुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा गर्नुभएको छ । करण केसीले एक विकेट झार्नुभयो । जारी सिरिजका नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

सिरिजमा नेपाल २७ खेलबाट २४ अङ्क जोड्दै छैटौँ स्थानमा छ । ३३ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । सिरिज च्याम्पियन बनिसकेको स्कटल्यान्डले ३४ खेलबाट ४८ अङ्क बनाएको छ । नेपालले अर्को खेल फागुन ९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सात टोली सहभागी सिरिजमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter