अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

काठमाडौं, फागुन १५ गते । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताउनुभएको छ ।

नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले सेनाका विषयमा आमजनमानस दिग्भ्रमित हुनेगरी कपोलकल्पित र झुठा टीकाटिप्पणीप्रति सचेत र सजग रहनुपर्नेसमेत बताउनुभयो ।

प्रधानसेनापति शर्माले सेनाप्रति हुने यस्ता अनर्गल प्रचारबाजी र सेनाप्रति लक्षित अनेक किसिमका अफवाहको पछि नलाग्न र बुझेर मात्र कुरा गर्न सम्बद्धपक्षको ध्यानाकर्षण गर्नुभयो । “हामी अराजनीतिक ढङ्गबाट काम गरिरहेका हुन्छौँ र सेनालाई स्खलित बनाउने विभिन्न किसिमका दिग्भ्रमित टीकाटिप्पणी सार्वजनिक गरेर बाटो बिराउन अनेकन् कोसिस भएको हुन्छ”, उहाँले भन्नुभयो, “त्यसतर्फ कसैले पनि विश्वास नगर्नु होला जानेर यथार्थ के हो भन्ने बुझी अघि बढ्नु तपाईँहरूको पनि कर्तव्य हो ।”

अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षाकवच एवम् सेनालाई जनताको समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुका रूपमा राष्ट्रले लिएको बताउँदै प्रधानसेनापति शर्माले सोहीअनुसार अवकाशप्राप्त सेनाले इज्जतका साथ काम गरेर समाजलाई अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक मूल्य, मान्यता र अनुशासन पालना गरी सेवामा रहँदा प्राप्त गरेको ज्ञान, सीप र कलाको अधिकतम सदुपयोग गर्दै राष्ट्र सेवामा समर्पित हुन उहाँले आग्रह गर्नुभयो । सीमित साधनस्रोतका बाबजुद पनि सेवा निवृत्त नेपाली सेना र आश्रित परिवारको सामाजिक तथा आर्थिक जीवनस्तर सुधार गर्नेगरी कार्यक्रम ल्याइएको जानकारी दिँदै प्रधानसेनापति शर्माले शिक्षा स्वास्थ्य र स्वारोजगारमूलक कार्यक्रमका लागि सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेकाले यसबाट अधिकतम लाभ लिन अनुरोध गर्नुभयो ।

बलाध्यक्ष रथी सीताराम खड्काले नेपाली सेनाभित्र अपनत्वको भावना जागृत गराउन सम्मेलन सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेना सबैको शक्ति र सम्पत्ति भएको बताउँदै कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबाट लाभ लिन अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारलाई अनुरोध गर्नुभयो ।

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले शिक्षा, स्वास्थ्य र सीपमूलक तालिमका लागि सहयोग प्रदान गर्दै आएको बताउँदै उद्यमशील क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत रु १५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अवकाश प्राप्त सैनिकका तर्फबाट प्रादेशिक रथी नेपाल भूषण चन्दले कल्याणकारी कोषमार्फत परिमार्जित र परिष्कृत ढङ्गबाट कार्यक्रम ल्याएको बताउनुभयो । सेना भूतपूर्व सैनिक सङ्घका महासचिव श्यामसुन्दर घिमिरेले यस किसिमको सम्मेलनले भूतपूर्व र बहालवाला सैनिकबीच सामीप्यता ल्याई सम्बन्ध विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मध्यपश्चिम पृतनाअन्तर्गतका सात जिल्ला अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्तापूर्वबाट करिब चार हजार अवकाश प्राप्त भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्ति भरणमा रहेका सदस्यको सहभागिता रहेको छ ।

सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्ब, १३ करोड ३७ लाख रहेको र त्यसको ब्याजबाट प्राप्त रकम सेनाको कल्याणकारी कार्यक्रममा लगानी गरिँदै आएको जनाइएको छ । उक्त कोषबाट हालम्म १० लाख बढी हितकारी लाभान्वित भएका छन् ।

सैनिक अस्पताल छाउनीको अत्याधुनिक स्वास्थ्य उपकरणसहित सुदृढ तुल्याएको, फरक क्षमता भएका सैनिकका सन्ततिका लागि अलग्गै विद्यालयका सञ्चालन गर्न थालिएको र देशभरिका सेनाका कक्षा ४ भन्दामाथिका सन्ततिलाई प्रतिव्यक्ति रु २० हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको, सैनिक परिवारका बालिकाका लागि सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन मेसिन खरिद गरी उत्पादन गर्न थालिएको जानकारी गराइयो ।

कार्यक्रममा नेपाली सेनाबाट अवकाश प्राप्त, सेनामा कार्यरत परिवारका अभिभावक, सेनामा कार्यरत रहँदा शाहदात प्राप्त परिवार तथा कल्याणकारी कोषबाट सहुलियत कर्जा लिएर स्वरोजगारमूलक व्यवसाय गरेका अवकाश प्राप्त सेना तथा आश्रित परिवारलाई सम्मान र पुरस्कृत गरिएको थियो । त्यस अवसरमा सेना र राष्ट्रिय सेवा दलका सदस्यले विभिन्न सांस्कृतिक झाँकीसहित नाचगान प्रस्तुत गरेका थिए ।

‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा, सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ आज यहाँ सुरु भएको यस किसिमको एकदिने सम्मेलन भोलि मङ्गलबार १९ नम्बर बाहिनी अड्डाअन्तर्गत रणसिंहदल गणमा आयोजना हुने कार्यक्रम रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter