कारखानामा ९८ प्रतिशत महिलाको सहभागिता

बिन्दु थापा / तानसेन, फागुन १७ गते । उद्योग व्यवसायमा अधिकांश पुरुषको बाहुल्य रहने गरे पनि पछिल्लो समय पाल्पामा महिलाको सहभागिता उत्साहजनक देखिएको छ । महिलामा आएको आत्मविश्वास लगन र मिहेनतले यहाँका महिलाहरु राम्रो आम्दानी गर्न पनि सफल भएका छन् । पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष पूर्णमाया महर्जनको उद्योगमा १६ महिलाले रोजगारी पाएका छन् ।

पाल्पाको पहिलो ढाका व्यवसायी महर्जन आठ दशक पार गरे पनि अझै बिहानै उठेर कारखानामा खटिएका कामदारसँंगै काम गर्न रुचाउने गर्नुभएको छ । महर्जनले २०१५ मा पाल्पामा पहिलो ढाका उद्योग स्थापना गर्नुभएको थियो ।

उद्योगमा ढाका बुन्ने एक हजार बढी महिला अहिले सीप विकास गरी आफैँ उद्यमी बनेर व्यवसाय चलाएका छन् । ज्ञानु कार्कीले २०४१ सालमा कार्की ढाका उद्योग खोल्नुभयो । चार वटा तानबाट सुरु गरेको उद्योगमा अहिले १५ वटा तान पुगेका छन् । जसबाट ढाकाका सारी, चोलो, कपडालगायतका कपडा उत्पादन हुन्छन् ।

उत्पादित कपडाहरु नेपालभर मात्र नभई विदेश पनि पुग्ने गर्छ । कार्कीको उद्योगमा १५ जनाले प्रत्यक्षरूममा रोजगारी पाएका छन् । आफूजस्तै महिलालाई पनि उद्यमशीलतामा लाग्न सिकाउने ज्ञानु पाल्पाली ढाका सङ्घको कोषाधक्ष्य जिम्मेवारीमा हुनुहुन्छ ।

तानसेन नगरपालिका -४ मा रहेको सरस्वती ढाका कपडा उद्योगमा ५० जना महिलाले ढाका कपडा बुन्ने गर्छन् । ३१ बर्षदेखि निरन्तर ढाकाबाट उत्पादित कपडाहरु देश विदेशमा पुर्‍याउन महिलाले मिहेनत गरेका छन् । दैनिक तानमा ढाका बुनेका महिलाले मासिक १५ देखि २० हजार कमाउने गरेको सरस्वती ढाका उद्योगका सञ्चालक हरी रायमाझीले बताउनुभयो ।

यस्तै, पौडेल ढाका उद्योगमा ६५ जना कामदारमध्ये ५० जना महिलालाले रोजगार पाएका छन् । उद्योगका सञ्चालक मनोज पौडेलले भन्नुभयो “महिलाले खाली समयको सदुपयोग गर्दै ढाका बुनेर दैनिकी चलाउने गरेका छन् । एकातिर रोजिरोटी चलेको छ भने अर्कोतर्फ ढाकाको राम्रो उत्पादन भएको छ ।

पाल्पामा हाल १५ वटा ढाकाका कारखाना सञ्चालित छन् । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार ढाका कपडासम्बन्धी सीप विकास तालिम, नयाँ कारखाना स्थापना गर्ने तथा उद्यमी व्यवसायीलाई विभिन्न बैंकसँग समन्वय गरी ऋण सहयोग भएको छ ।

कोभिड –१९ को अवस्था सहज बन्दैजाँदा कारखाना विस्तार हुँदैगएको र व्यापारमा बृद्धि हुँदैगएको उहाँको भनाइ छ । यता ढाका संघले ढाकाको सामग्री बिक्री नभएमा व्यवसायीबाट खरिद गरी तानसेनमा रहेको कोसेली घरबाट बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

लुम्बिनी प्रदेश सरकारको ‘एक पालिका एक कोसेली’ कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकाको समन्वयमा ढाका कपडा बिक्रीका लागि कोसेली घरको व्यवस्था गरेको छ । बजारमा ढाकाको माग बढ्दो रहेकाले सङ्घले अबको दुई वर्षभित्र एक हजार ५ सय जनालाई सीप विकास तालिम दिने भएको छ । हाल यहाँका कारखानाबाट १ हजार बढीलाई प्रत्यक्ष रोजगार सिर्जना भएको छ । उद्योगमा काम गर्ने कामदारमध्ये ९८ प्रतिशत महिला छन् ।

पहिला ढाका भन्नेबित्तिकै चोली, टोपी र भोटोमा मात्रै सीमित भएकोमा हिजोआज ग्राहकको रोजाइअनुसार कमिज, साडी, ब्लाउज, झोला, कुर्ता, पछ्यौरा, आस्कोट, पर्दालगायत विभिन्न सामग्री तयार पारिन्छ ।

जिल्ला सदरमुकाम तानसेनसँगै ग्रामीण क्षेत्रमा कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा र अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter