रुइतद्वारा जन्मस्थानका नागरिकको आँखा उपचार

चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन २१ गते । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू जन्मेको ठाउँ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पुगेर आँखाका विरामीको उपचार गर्नुभएको छ । जिल्लाकै दुर्गम तथा बिकट स्थानीय तहको रुपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा डा. रुइतले शल्यक्रियासहित आँखाका विरामीको उपचार गर्नुभएको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा शनिबार र आइतबार दुई दिन सञ्चालित निःशुल्क आँखा शिविरमार्फत डा. रुइतले मोतियाविन्दुका रोगीको शल्यक्रिया साथै उपचार सेवा प्रदान गर्नुभयो । डा. रुइतको नेतृत्वमा अर्का नेत्र रोग विशेषज्ञ डा. होम गुरुङको संलग्नतामा शनिबार ५० जना र आइतबार २० गरी ७० जना मोतियाविन्दु भएका रोगीको आँखाको शल्यक्रिया गरिएको छ ।

मोतियाविन्दु भएका चार जनालाई भने शल्यक्रियासहित उपचारका लागि तिलगङ्गा आँखा अस्पतालका लागि सिफारिस गरिएको फक्ताङ्लुङ गाउँपालिकाका कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार मोतियाविन्दुको अवस्था केही जटिल देखिएकाले उहाँलाई आँखाको शल्यक्रिया गर्न तिलगङ्गा सिफारिस गरिएको हो ।

फक्ताङ्लुङ गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गरिएको समेत करिव दुई हजार पाँचसय जनाले आँखा परीक्षण गराएका छन् । गत साताको सोमबारदेखि गाउँ–गाउँमा पुगेर आँखा परीक्षण शिविर सञ्चालन गरी उपचार सेवा प्रवाह गर्नुका साथै मोतियाविन्दुका रोगी पहिचान गरिएको थियो । गाउँटोलमा सञ्चालन गरिएको शिविरमार्फत मोतियाविन्दु पहिचान भएका विरामीको शनिबार र आइतबार आँखाको शल्यक्रिया गरिएको हो ।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार दुर्गम तथा विकट बस्ती भएका कारण गाउँ–गाउँमा पुगेर आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो । आँखा परीक्षण शिविरबाट मोतियाविन्दु पहिचान भएकालाई पालिका केन्द्र तापेथाकमा केन्द्रित गरी शल्यक्रिया साथै उपचार सेवा प्रवाह गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

उहाँकाअनुसार गत सोमबारदेखि प्रत्येक वडाका नागरिकलाई पायक पर्नेगरी गाउँगाउँमा आँखा परीक्षण शिविर सञ्चालन गरी शनिबार र आइतबार शल्यक्रियासहितको शिविर सञ्चालन गरिएको थियो । दुर्गम हिमाली गाउँहरु घुन्सा, फले, ग्याब्ला, ओलाङ्चुङगोलामा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । यस्तै लेलेपको इलाडाँडा, हान्द्रङटार, तापेथोक, हेल्लोक, छिरुवा र सिँवाबजारमा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

निःशुल्क आँखा शिविर भने तिलगङ्गा आँखा प्रतिष्ठान र तेज पोली रुइत फाउण्डेसनको प्राविधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको थियो । शिविरको सम्पूर्ण खर्च व्यवस्थापन गाउँपालिकाले बेहोरेको छ । आँखाका शल्यक्रिया गर्नुपर्ने विरामीलाई गाउँदेखि उपचार अर्थात शिविर सञ्चालन केन्द्र तापेथोकसम्म आउजाउमा लाग्ने खर्च, खानपान तथा आवाससहितको सबै खर्च गाउँपालिकाले नै गरिदिएको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो ।

यता गाउँमै आँखा उपचार गराउन पाएकोमा स्थानीय सर्वसाधारणले राहत महशुस गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका ५९ वर्षी बीरबहादुर लिम्बूले शल्यक्रिया गरेपछि आँखा देख्न थालेको बताउनुभयो । इखाबुकै ३२ वर्षीया पार्वता लिम्बूले पनि दुवै आँखाको शल्यक्रिया गराउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter