यूएईमाथि नेपालको रोमाञ्चक जित, विश्वकप सम्भावना जीवितै

गाेविन्द रेग्मी / काठमाडौं, फागुन २२ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपालले घरेलु टोली यूएईलाई ४२ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रनमा समेटियो ।

यूएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बनाउनुभयो । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिनुभयो । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले सर्वाधिक ७० रन बनाउनुभयो । उहाँले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । भीमको यो एक दिवसीयमा पहिलो अर्धशतक हो । भीम ‘प्लेयर अफ दि म्याच’ बन्नुभयो । आरिफ शेखले अविजित ४३ रन बनाउनुभयो ।

कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाउनुभयो ।

बलिङमा यूएईका जुनेद सिद्धिकीले तीन विकेट लिनुभयो । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई-दुई विकेट लिनुभयो । कार्तिक मेइयापानले एक विकेट झार्नुभयो ।

जितसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले ३२ खेलबाट ३२ अंक बनाएको छ । समान खेलबाट ३१ अंक बनाएको यूएई छैटौं स्थानमा झरेको छ । यसअघि नेपाल छैटौं स्थानमा थियो ।

यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) समान खेलबाट नौ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । युएईपछि सिरिजका बाँकी खेल नेपालमा हुनेछ । नेपाललाई विश्वकपमा छनोट हुन अबका सबै (चार) खेल जित्नु पर्ने बाध्यता छ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्षतीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter