विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

खुम्जुङ (सोलुखुम्बु), फागुन २४ गते। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ।

सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रममा उहाँले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या भोगेको देखेको भन्दै राज्यले नीतिगतरूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्ने बताउनुभयो।

“यहाँको कृषि, स्वास्थ्य र पर्यापर्यटनमा निकै नै प्रभाव परेको देखियो, अब यसको समाधानमा सिङ्गो राज्य लाग्नुपर्छ, त्यसको पहलकदमी म गर्छु”, उपसभामुख रानामगरले भन्नुभयो।

बुधबार एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बुपासाङल्हमु-४ खुम्जुङमा सम्पन्न कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेको समस्या देशकै प्रतिनिधिमूलक भएको बताउनुभयो।

उहाँले महिला स्वास्थ्य, कृषि र पर्यटनमा जलवायु अनुकूलनका कार्यक्रम ल्याउन माथिल्लो सदनमा आवाज उठाउने धारणा राख्नुभयो। “वर्षौंदेखि हिमाली भेगको वातावरण झेल्दै आइरहेका हिमाली भेगका महिलाहरूको अहिलसम्मको भोगाइ, सिकाइ तथा अनुभव राज्यका लागि नीति निर्माणको आधार बन्न सक्छ”, उहाँले भन्नुभयो, “म नीति–निर्माण तहमा यहाँको वातावरण र पर्यावरण जोगाउने विषयमा जोडदार कुरा उठाउँछु।”

जलवायुविज्ञ डा. माधव कार्कीले नेपालको जलवायु परिवर्तनको नीतिमा नै जलवायु परिवर्तनसम्बन्धी महिलाहरूको अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो। डा. कार्कीले हिमाली क्षेत्रमा पानी आपूर्तिमा गम्भीर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लेर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताउनुभयो। उहाँले जलवायु अनुकूलनको कार्यक्रममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।

आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका उजागर गर्नुपर्ने बताउनुभयो। हिमाली मुद्दामा सिङ्गो राज्यको प्राथमिकता पर्नुपर्ने उहाँको जोड छ।

कृषि मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले मन्त्रालयले हरेक स्थानीय तहमा जलवायु अनुकूलनका लागि कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा पनि नीति परिमार्जन गर्दै लैजाने बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष टासील्हामु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो।

अभियन्ता सरु श्रेष्ठले जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने आफूहरूको लक्ष्य रहेको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाहरूले भोगेको सवाल आमसञ्चारको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो। सो अवसरमा खुम्बु महिला समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आफूहरूले पिउने पानी, स्वास्थ्य र पर्यावरणीय समस्या झेल्नुपरेको भन्दै राज्यको खबरदारी गर्नुभएको थियो।

कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (यूएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बुपासाङल्हमु गाउँपालिकालगायत सङ्घसंस्था र निकायको सहकार्य थियो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter