• Wednesday, May 28, 2025

‘सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिंदैन’

काठमाडौं, वैशाख २७ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो चुनौती रहेको बताउनुभएको छ। आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाका सदस्यबाट उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले सीमित स्रोतले असीमिति आवश्यकता पूरा गर्न नसक्ने बताउनुभएको हो।

“हाम्रा महत्त्वाकांक्षा र आवश्यकता थुप्रै छन्, तर हाम्रो साधन र स्रोतको सीमितता छ। थोरै स्रोत र साधनले धेरै आवश्यकता र महात्त्वाकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौती छ”, उहाँले भन्नुभयो, “अहिले पनि बजेट छर्ने दबाबमा छ। त्यो स्वाभाविक पनि हो। तर बजेटमा क्षेत्रगत प्राथमिकताभित्र पनि अर्को प्राथमिकता निर्धारण गर्नुपर्ने भएको छ।” क्रमागत र बहुवर्षीय आयोजनाको दायित्व निकै धेरै रहेकोले नयाँ योजना र कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्न चुनौती हुने उहाँको भनाइ छ।

“वास्तविक स्रोत सुनिश्चित नै नभइकन विगतका वर्षमा पूरा लागतका आयोजना अघि बढाइएका छन्। चार खर्बभन्दा बढीका यस्ता आयोजना छन्”, डा महतले भन्नुभयो, “स्रोत नै सुनिश्चित नभइकन ठेक्का लगाइएका आयोजना हेर्ने हो भने अझै तीन–चार वर्ष हामीले अरु कुनै आयोजना र कार्यक्रममा बजेट नछुट्याइकन त्यसैमा मात्र विनियोजन गर्नुपर्ने अवस्था छ।”

विगतका वर्षमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा अर्थतन्त्रका सूचकको विश्लेषण गर्ने चलन नभए पनि यस वर्ष आफूले अर्थतन्त्रको वास्तविक समस्यासमेत देखाएर समस्या स्वीकार गरेरै अघि बढ्न चाहेको बताउनुभयो।

लक्षित रूपमा आर्थिक वृद्धिदर हासिल नभएको, न्यून राजस्व देखिएको, व्यापार घाटा बढेको, सार्वजनिक ऋणको दायित्व बढेकोलगायतका समस्या अहिले अर्थतन्त्रमा रहेको अर्थमन्त्री महतको भनाइ छ। सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व बढिरहेकाले बजेट स्रोतमा चाप परेको उहाँको भनाइ छ।

त्यस्तै अर्थतन्त्र विगतका वर्ष राम्रो रहेको र अहिले एकाएक बिग्रिएको नभई एकपछि अर्को समस्या थपिएर अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाइ छ।

“हामी हुँदा ठिकठाक थियो, तर अहिले मात्रै बिग्रियो भनेर भन्नुभएको छ। तर विगतदेखिकै समस्या थपिएर अहिलेको अवस्था बनेको हो”, डा महतले भन्नुभयो, “रोग लागिसकेको हुन्छ। तर त्यसको पुष्टि हुन समय लाग्छ। अर्थतन्त्रको अवस्था पनि त्यही हो।”

अर्थमन्त्री महतले अर्थतन्त्र निकै धराशायी भइसकेको भन्ने नरहेको पनि दावी गर्नुभयो। “अर्थतन्त्र धराशायी भएको, ओरालो लागेको भन्ने होइन। तर उकालो चढ्नेक्रम र रफ्तार कम भएको मात्रै हो”, उहाँले भन्नुभयो। पूँजीगत खर्च बढाउन र खर्चमा मितव्ययिता कायम गर्न आर्थिक वर्ष शुरु भएलगत्तै साउनदेखि नै बजेट कार्यान्वयनमा लैजान आवश्यक रहेको समेत उहाँले बताउनुभयो। पूर्व तयारी नै नसकिएका आयोजना बजेटमा पर्दा आयोजनाको लागत र समय दुवै बढ्ने गरेको उहाँको भनाइ छ।

संसदमार्फत आएका सुझाव, सल्लाह, आलोचना, समालोचनाले बजेटलाई थप परिष्कृत गर्न सघाउ पुर्‍याउने अर्थमन्त्री डा महतले बताउनुभयो।

आगामी आर्थिक वर्षको बजेट ल्याउनका लागि निकै छोटो समय मात्र बाँकी हुँदा विस्तृत छलफल हुन नसकेको र धेरैभन्दा धेरै सुझाव समेट्न नसकिएको उहाँले स्वीकार्नुभयो। “समय थोरै छ। तर यसबीचमा धेरै काम गर्न बाँकी छ। मैले तीन दिन संसद्मा बसेर सबै माननीयज्यूहरूका सुझाव टिपोट गरेका छु। त्यसलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रयास गर्नेछु”, अर्थमन्त्री महतले भन्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter