• Tuesday, April 15, 2025

स्थानीय परिकारप्रति पर्यटकको आकर्षण

गाईघाट, जेठ १ गते । पछिल्लो समय उदयपुरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गर्न पर्यटकको वृद्धि भएसँगै त्यहाँ सञ्चालित ‘होमस्टे’ अर्थात् घरबासमा आउने पाहुनालाई स्थानीय परिकारले आकर्षित गरेको छ।

जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जात जातिसँग सम्बन्धित खानाका विभिन्न परिकारप्रति पाहुनाहरूको आकर्षण बढेको हो। अघिल्लो वर्षदेखि नै रौता पोखरीको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँका होमस्टेमा पाइने मौलिक खानाप्रति पाहुनाको आकर्षण धेरै हुने गरेको होमस्टे सञ्चालकहरू बताउँछन्।

रौता पोखरीको निकासस्थित रौता घरबास (होमस्टे) का सञ्चालक कमलबहादुर मगरका अनुसार रौता क्षेत्रका होमस्टेमा स्थानीय जात जातिका खानाका परिकार पर्यटकले धेरै रुचाउने गरेका छन्। गत वर्षको असोज महिनादेखि यस वर्षको वैशाख अन्तिम सातासम्म झन्डै ५० हजार पर्यटकले रौताको भ्रमण गरेको उहाँले बताउनुभयो। रौता पोखरीमा नयाँ वर्ष अर्थात् वैशाख १ गते भव्य मेला लाग्ने गरेको छ।

यीमध्ये झन्डै २५ हजारभन्दा बढी पर्यटक रौतामा स्थानीय खाना खान र बास बस्नका लागि नै आउने गरेको मगरको भनाइ छ। रौता क्षेत्रमा भ्रमण गर्न आउनेले प्रायः स्थानीय खाना कोदो तथा फापरको ढिँडो, फापरको रोटी, कोदोको तुङ्बा, मकैको भात, सिस्नो, सिन्कीको अचार, गुन्दु्रकका परिकार र लोकल कुखुराको मासु नै बढी रुचाउने गरेका छन्। स्थानीय परिकार खानाकै लागि होमस्टेमा बास बस्न मात्र पनि कतिपय मानिस आउने गरेको अर्का होमस्टे सञ्चालक कर्णबहादुर राई बताउनुहुन्छ।

सात वर्षदेखि निरन्तर रौतामा होमस्टे सञ्चालन गर्दै आउनुभएका कर्णबहादुरले भन्नुभयो, “विगतमा वर्षभरि गरेर एक हजार पर्यटक बास बस्दैनथे तर गत वर्षको मङ्सिरयता झन्डै चार हजारभन्दा बढी पर्यटक मेरो होमस्टेमा बास बसिसकेका छन्। दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका यहाँका होमस्टेमा आउने अधिकांश पर्यटकले नितान्त स्थानीय खाना मन पराउँछन्।”

होटल रौता पर्यटन हाउसका सञ्चालक शिव अधिकारीले पनि एक वर्षदेखि रौतामा आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको बताउनुभयो। कोदोको तुङ्बा, खानामा मकै, फापर र कोदोको ढिँडो तथा मकैको भात र सिस्नोसहित लोकल कुखुरा र परेवाको सुप खानका लागि पूर्वी तराईका झापा, मोरङ, सुनसरीलगायतका क्षेत्रबाट बास बस्दै आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको उहाँले बताउनुभयो। जिल्ला सदरमुकाम गाईघाट बजारका उपभोक्ता पनि शनिबारको बिदामा परिवारसहित रौता घुम्न र होमस्टेमा बसेर बेलुकीको छाक स्थानीय परिकारमा रमाउने गरेको रौता सिजाली होमस्टेका सञ्चालिका राधा पुलामी बताउनुहुन्छ। उहाँका अनुसार पछिल्ला वर्षदेखि रौता क्षेत्रमा अन्य जात जातिको खानाको प्रकारमा पनि वृद्धि गरिएको छ।

रौतामाई गाउँपालिकाले रौता क्षेत्रमा आउने पर्यटकका लागि सवारी पार्किङ, विद्युत् विस्तारका साथै सडक व्यवस्थापन गरेपछि रौता क्षेत्र अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार त्रियुगा नगरपालिकाको बेलदोभान क्षेत्रबाट रौतासम्म १७ किलोमिटर केबलकार जडान र रौतामा हेलिप्याडसहित प्रहरी चौकी स्थापनाको कामसमेत अगाडि बढाइएको छ।

समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित रौता पोखरी क्षेत्र धार्मिक तथा पर्यटनको हिसाबले पनि जिल्लाकै महìवपूर्ण स्थलका रूपमा रहेको छ। यहाँबाट एकै पटक पूर्वी पहाडका सात जिल्ला ओखलढुङ्गा, सोलु, खोटाङ, भोजपुर, सङ्खुवासभा र धनकुटा तथा सिन्धुली अवलोकन गर्न सकिन्छ भने उत्तरी क्षेत्रका सातवटा हिमशृङ्लासहित दक्षिण तराईका पाँच जिल्ला र पूर्वको विराटनगर, सुनसरी, सप्तकोशीसहितका क्षेत्रहरू अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा बताउनुहुन्छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter