• Sunday, June 15, 2025

बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने

काठमाडौं,जेठ ९ गते। थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौं र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ।

थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो। ललितपुर र काठमाडौं दुवै जिल्लाको मौलिकता समेट्ने गरी सुन्दर पुल निर्माणको योजना अघि बढाइएको सडक विभाग पुल महाशाखाले जनाएको छ।

सो पुलको आगामी आवमा अध्ययन हुने पुल महाशाखा प्रमुख नरेशमान शाक्यले बताउनुभयो। उहाँका अनुसार सकेसम्म पुलले त्यस क्षेत्रको परिचय दिने गरी मौलिक खालको ‘सिग्नेचर’ पुल बनाउन लागिएको हो। उहाँले भन्नुभयो, “सकेसम्म त्यस क्षेत्रको नौलो परिचय होस् भन्ने गरी निर्माण गर्ने योजना रहेको छ।”

आधुनिक पुल निर्माण गर्न लागिएकाले त्यो ‘एडभान्स’ र अलि ‘हाइफाइ’ हुने प्रमुख शाक्यले बताउनुभयो। त्यसलाई हेर्दा नौलो र हावापानी अनुकूलको बनाउन लागिएको छ। उहाँले भन्नुभयो, “बाढी पहिरोमा बढी थाम्न सक्ने किसिमको हुनेछ।”

अब निर्माण हुने पुलले सामाजिक समावेशीकरणलाई समेत ध्यान दिने उहाँको भनाइ छ। शारीरिकरुपमा अशक्तलाई समेत ध्यान दिएर लिफ्ट वा ¥याम्प राख्दा कसरी बनाउन सकिन्छ भन्ने विषयलाई ध्यान दिने उहाँले बताउनुभयो। पुल हेर्दा आकर्षक, मौलिक र नौलो बनाउन कलाको पनि प्रयोग गरिने प्रमुख शाक्यले बताउनुभयो। पुलको टुप्पेमा घर वा मन्दिर बनाउने कि धार्मिक वा अरु स्थानीय झलक दिने भनी प्रयास गरिने भएको छ।

अहिले बागमती पुलमा सवारी चाप बढिरहेकाले त्यसको विकल्पका रुपमा त्यस आसपासको क्षेत्रमा नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको हो। बुद्धनगरमा काठमाडौं ललितपुर जोड्ने पुल सञ्चालनमा भए पनि त्यसको अवस्था पनि थप सवारीसाधन थेग्न नसक्ने रहेको छ। बिहान र साँझ दुवै पुलमा सवारी चाप उच्च रहेकाले त्यसलाई कम गर्नका लागि पनि त्यसको विकल्पमा अर्को पुल बनाउने योजना बनाइएको हो।

पहिले पुल निर्माण एउटा गाउँ, जिल्ला, सहरलाई अर्कोसँग जोड्ने पूर्वाधार भए पनि पछिल्लो समय यसलाई कुनै पनि ठाउँको सुन्दरता बढाउन सक्ने माध्यमसमेत मानिएको छ। विश्वका कतिपय ठाउँमा पुलकै कारण त्यस ठाउँ परिचित बनेको छ। नेपालमा पनि त्यस्तै नौलो र आधुनिक प्रविधिप्रति सडक विभागले चासो बढाएको पाइन्छ। केही वर्ष पहिले सम्पन्न बिजुलीबजार पुलले त्यस क्षेत्रको सुन्दरता बढाएको छ। सरकारले उपत्यका र उपत्यका बाहिर पनि ‘सिग्नेचर’ पुल निर्माणको योजना बनाएको छ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter