• Saturday, May 31, 2025

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

काठमाडौं, जेठ ११ गते। सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्सल’ र ‘मेरो डान्स युनिभर्सल’ प्रतियोगिताका सहभागी कलाकारहरूलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो।

नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै सभामुख घिमिरेले कला र संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान गर्नुभएको हो।

विश्वका प्रतिभालाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उहाँले उक्त फाउण्डेशनको प्रशंसा पनि गर्नुभयो। नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्व सामु चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई उहाँले सुझाव पनि दिनुभयो।

यो संसारमा नेपाली नपुगेको ठाउँ कमै रहेको र नेपालीहरू जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित यो विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु। यस अभियानले नेपाललाई विश्वमै चिनाउन ठुलो योगदान गर्छ भन्नेमा म विश्वस्त छु।”

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन्।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिता आयोजना गरेको हो।

‘मेरो डान्स युनिभर्सल’ र ‘मेरो भ्वाइस युनिभर्सल’ कार्यक्रम नेपाल टेलिभिजनबाट पनि प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्सल’ बेलुकी ८ः५० बजेदेखि र ‘मेरो डान्स युनिभर्सल’ एनटिभी प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण भइरहेको छ।

गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, समूह नृत्यतर्फ पनि प्रथम हुनेलाई २० लाख पुरस्कार रहेको छ।

संसारभरबाट आएका नेपालीभाषी प्रतिभाबीच दुई महिनादेखि काठमाडौँमा भएका विभिन्न साइटलेस् अडिसनबाट यी प्रतिभा छानिएका हुन्। ती प्रतिभाहरूलाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतले भेटेर शुभकामना दिनुभएको छ।

आज सभामुखसँग ती प्रतिभाले पनि आफूले नेपाली भाषामा गीत गाउन तथा नेपालमा आएर नृत्यसहितको आफ्नो प्रतिभा देखाउन पाएकामा खुसी व्यक्त गरेका थिए। सो कार्यक्रममा अमेरिकाका मोन मगर, म्यानमार–थाइल्याण्डका पुनाराम र खुसी कार्की, संयुक्त अरब इमिरेट्सबाट राजेश लिम्बू, पोर्चुगलबाट सुवास थापामगर, भारतबाट साइराज खातीलगायतका कलाकारले आफ्ना प्रस्तुति दिएका थिए। रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter