• Thursday, June 12, 2025

विद्युत् निर्यात सुरु खेर जाने जोखिम कायमै

काठमाडौँ, जेठ १४ गते । नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो ।

प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । अहिले एक सय मेगावाट भए पनि विद्युत् उत्पादनको अवस्था अनुसार निर्यात निर्धारित हुँदै जाने उहाँले बताउनुभयो । केही विद्युत् आयोजना र प्रसारण लाइन मर्मतका काम नसकिएकाले आइतबार निर्यात नहुने उहाँले जानकारी दिनुभयो ।

“मर्मतको काम सकियो भने हाम्रो उत्पादन बढ्दै जान्छ र सोही अनुसार निर्यात परिमाण पनि बढाउँदै लैजान्छौँ,” उहाँले भन्नुभयो, “सोमबारदेखि अवस्था हेरेर निर्यात निरन्तर गर्ने प्रयास हुनेछ ।” प्रतियुनिट औसत सात रुपियाँका दरले निर्यात भएको हो ।

प्राधिकरणले गत वर्ष पुस ३ गतेदेखि निर्यात बन्द गरेको थियो । प्राधिकरणले गत वर्ष जेठ १९ गतेबाट विद्युत् निर्यात सुरु गरेर पुस ३ सम्ममा करिब ११ अर्ब १६ करोड ३० लाख रुपियाँको विद्युत् निर्यात गरेको थियो । सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट छ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत वर्ष कात्तिकमा थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । आगामी असार मसान्तसम्म करिब २८ सय मेगावाट जडित क्षमता पुग्दै छ । विद्युत् उत्पादन बढ्दो भए पनि पिक डिमान्ड भने १४ सय मेगावाटको आसपास रहन्छ । प्राधिकरणले हालसम्म १० वटा जलविद्युत् आयोजनाको ४५२.६ मेगावाट विद्युत् विद्युत् इन्डियन इनर्जी एक्सचेन्जमा निर्यातको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयले यस्तो अनुमतिलाई हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान राखेको छ । प्रवक्ता भट्टराईका अनुसार आइइएक्समा विद्युत् निर्यातका लागि नवीकरणका अतिरिक्त थप आयोजनाबारे पनि प्रक्रिया भने चलिरहेको छ ।

प्राधिकरणले बढी भएको विद्युत् निर्यात गर्न विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा पनि बिजुली पु-याउने पहल पनि जारी राखेको जनाएको छ । गत चैत पहिलो साता सम्पन्न नेपाल–भारतबिचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको थियो । विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरिएको थियो । यो सम्भव भयो भने नेपालले विहारसँग प्रसारण लाइन जोडिएका बिन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ । विहारसँग कटैया (विहार)–कुशवा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गत वर्ष फागुनको पहिलो साता सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दसौँ बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ भित्र र अप्रिल/मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो ।

विद्युत् आदानप्रदान समितिको बैठकले विद्युत् आदानप्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युत्को प्रतियुनिटदर ७.२१ भारतीय रुपियाँ (११ रुपियाँ ५४ पैसा) तय गरेको छ । आर्थिक वर्ष सन् २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत् आदानप्रदान दर तय भएको हो । आइइएक्समा दैनिक बिडिङ विधिबाट निर्यात गर्दा बजारको दिगो व्यवस्थापन नभएको भन्दै प्राधिकरणको आलोचना पनि हुँदै आएको थियो । विहारसँगको यो समझदारी कार्यान्वयनमा ल्याउन नसकिए यो वर्षको वर्षायाममा एक हजार मेगावाटसम्म विद्युत् खेर जाने जोखिम छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter