तरकारी खेतीमा रमाउँदै युवा कृषक

रजनी योगी / सुर्खेत, जेठ १७ गते । वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको घिमिरेले बताउनुभयो।

एकीकृत कृषि समूहमा आबद्ध भएर घिमिरेले तरकारी खेतीसम्बन्धी तालिम लिनुभएको थियो। कृषि निर्देशनालय सुर्खेतले अनुदानमा घिमिरेलाई थोपा सिँचाइसहितको तीन वटा प्लास्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेट दिएको थियो। तालिम र कृषि औजार, उपकरण प्राप्त गरेपछि व्यावसायिक तरकारी खेतीमा सहयोग पुगेको घिमिरेले बताउनुभयो।

एकीकृत कृषि समूहमा आबद्ध ६० जनामध्ये २५ जना किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्। अन्य किसान मौसमी तरकारी खेतीमा संलग्न छन्। परम्परागत रूपमा लगाइने अन्नबालीमा निर्भर किसानले व्यावसायिक तरकारी खेती थालेपछि आर्थिक उपार्जनसमेत गरिरहेका छन्। किसानले तरकारी बिक्रीबाट बचेको पैसा बैङ्क र गाउँको सहकारीमा बचत गर्दै आएका छन्। वीरेन्द्रनगर–३ का श्याम पुरीले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको दस वर्ष भयो। उहाँ एक सफल कृषक हुनुहुन्छ। उहाँको बारीमा लटरम्म बेमौसमी तरकारी फलेको छ। करिब दुई बिघा जमिनमा तरकारी खेती गर्दै आएका पुरीले वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आउनुभएको छ। उहाँको बारीमा करेला, चिचिन्डा, खुर्सानी, लौका, काँक्रा , बोडी, बन्दागोभी, भान्टा, भेडे खुर्सानी उत्पादन भइरहेको छ।

पुरीले तीन जनालाई दैनिक रोजगारी दिनुभएको छ। तरकारी टिप्ने, बजारसम्म पु-याउने, गोडमेल गर्ने र सिँचाइ गर्नका लागि मासिक तलबको व्यवस्था गरेर काममा लगाइएको छ। सिँचाइको राम्रो प्रबन्ध रहेको उहाँको बारीमा अन्य ठाउँको तुलनामा दोब्बरले तरकारी फल्ने गर्छ। पुरीले भन्नुभयो, “तरकारी खेतीसँगै च्याउ खेती पनि गरेको छु। च्याउमा कालो ढुसीको समस्या देखिएको छ। यो वर्ष राम्रो उत्पादन हुन सकेन। बेमौसमी तरकारी भने राम्रो उत्पादन भइरहेको छ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter