• Saturday, June 14, 2025

इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, असार २९ गते। श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो। नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

पाकिस्तान ए का लागि तैयव ताहिरले सर्वाधिक ५१ रनको योगदान दिए। त्यस्तै वमिर विन युसुफले ३६ रन बनाए भने कमरान गुलामले ३१ रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट झारे। त्यस्तै कुशल मल्लले १ विकेट झारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो। नेपालका लागि सोमपाल कामीले एक सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले।

सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रनको साझेदारी गरे। यस साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगायो। प्रतिशले २४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए।

पन्ध्र दशमलव ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली सम्मानजनक योगफल बनाउन सफल भयो। त्यसैगरी अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन बनाए। गुलशन झाले १९ बलमा एक चौकाको सहयोगमा १३ रन बनाए भने ओपनर आसिफ शेखले १२ रन जोडे। त्यसबाहेक अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

पाकिस्तान ए का लागि शाहनवाज दहानी एक्लैले पाँच विकेट लिए भने मोहम्मद वासिम जुनियरले चार विकेट लिए। त्यस्तै मुबासिर खानले एक विकेट लिए। जितसँगै पाकिस्तान ए टोली समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। पराजित नेपाल दोस्रो स्थानमा रहेको छ।

नेपालले आफनो दोस्रो खेलमा आगामी साउन १ गते भारत ए सँग खेल्नेछ। प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन्। टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश र ओमान ए छन् भने समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ। रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter