चीनका राष्ट्रपतिको भ्रमणमा भएका सहमति कार्यान्वयन हुने

काठमाडौं, साउन ७ गते । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनका कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।

रक्षा मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भएकाे भेटवार्तामा युआनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्‍वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गर्नुभयो।

उहाँले मित्र राष्ट्र चीनले आर्थिक, सामाजिक एवम् प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्‍त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गर्नुभयो।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहार्दपूर्ण एवम् घनिष्ठ रहिआएको उल्लेख गर्दै चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।

भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणको अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताउनु भयो।

उहाँले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, शहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवम् पर्यटन विकास, युवाहरुको आदान–प्रदानलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने विचार राख्नुभयो ।

साथै, चीनले नेपालको गरिबी न्यूनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम आफ्नो भ्रमणकै क्रममा अगाडि बढाइने कुरासमेत उल्लेख गर्नुभयो ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको कुरा उल्लेख गर्नु हुँदै आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदान–प्रदान हुने विश्वास दिलाउनु भयो ।

साथै उहाँले पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० मार्चमा चीनको भ्रमण गरेपछि नेपाल–चीन सम्बन्ध प्रगाढ भएको उल्लेख गर्नुभयो । नेपालको एक चीन नीतिप्रति कृतज्ञता प्रकट गर्दै नेपालको भूमि चीनविरुद्धका गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिवद्धताको प्रशंसा गर्नुभयो ।

भेटावार्तामा उहाँले कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कालाई उपयुक्त समयमा चीन भ्रमणका लागि निमन्त्रणा दिनुभयो।

रक्षामन्त्री खड्काले नेपाल भ्रमण सफल एवम् आरामदायी रहोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु एवम् चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरु साथै, चिनियाँ राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter