• Friday, June 13, 2025

कलङ्की–बसुन्धारा सडक खण्ड फरक डिजाइनमा बन्ने

काठमाडौँ, साउन ११ गते । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किसिमको हुने सडक विभागको भनाइ छ ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ । पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो । उहाँले भन्नुभयो, “मुख्य सडकको बीचमा हुने डिभाइडरले नै दुवैतर्फको सडक छुट्टाउनेछ ।”

पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्कोतर्फबाट जाने थियो । यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुईतर्फको लेन छट्टिनेछ । सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा जैसीले बताउनुभयो ।

चक्रपथको पहिलो खण्डमा ठाउँ ठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ । विभागले दुईतीन ठाउँका चोकमा ‘अण्डरपास’ र ‘ओभरपास’ लगायत संरचना निर्माणका लागि पहल गरेको छ । चोकमा हुने सडकको चाप व्यवस्थापन गर्न यी संरचनाका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो । प्रमुख डा जैसीले भन्नुभयो,“त्यो अनुरोध उनीहरूले मौखिक रूपमा स्वीकार गरेका छन् । के हुन्छ भन्ने विस्तृत डिजाइन आएपछि थाहा हुन्छ ।”

सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो । त्यो बेला अण्डपास निर्माण गर्ने कुरा उल्लेख थिएन । पहिले नभएको नक्सा परिवर्तन गर्न गाहे हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भन्नुभएको छ ।”

चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीन वटा मात्रै आकाशे पुल बनाएको थियो । त्यो मात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ स्थानमा आकाशे पुल निर्माण गरेको थियो । यो खण्डमा भने यात्रुले सडक पार गर्न के बनाउने भनी अध्ययन गरेर तय गरिने चिनियाँ पक्षको योजना रहेको प्रमुख डा. जैसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक सर्वेक्षणअनुसार कहाँबाट मानिस हिँड्छन् भन्ने हेरेर गरिनेछ ।”

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीदेखि अगाडिसम्मको सडक निर्माण गर्न इच्छा देखाएको थियो । सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।

पाइपलाइन, विद्युतका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्क्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा काममा ढिलाइ भइरहेको थियो ।

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गरिएको विभागले बताउँदै आएको छ ।

कोटेश्वर–कलङ्की सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् ।

चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुबैतर्फ सर्भिस ट्याक निर्माण गर्दा यो सडक १० लेनको बनेको थियो ।

चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुवै जिल्लामा परेको थियो । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ ।

चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो । स्वयम्भू, महाराजगन्जलगायत स्थानमा निर्माण स्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter