• Thursday, May 29, 2025

गौतमबुद्ध विमानस्थल सञ्चालनको समस्या समाधानमा लाग्छु : उपप्रधानमन्त्री खड्का

कपिल ज्ञवाली / सिद्धार्थनगर, भदौ २ गते । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या जतिसक्दो चाँडै समाधान गर्ने बताउनुभएको छ । उहाँले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानुनले अफठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने उल्लेख गर्नभयो।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले विमानस्थलबारे उचित तरिकाले टुंगो लगाउन नसकिएको बताउनुभयो ।

उहाँले पर्यटकको ओइरो लाग्ने, आर्थिक उन्नतिको आधार बन्ने ठूलो सपना देखेर नै विमानस्थलमा धेरै ठूलो लगानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विमानस्थलको विषयमा सम्माननीय प्रधानमन्त्रीसँग पनि कुराकानी गर्नेछु, काठमाडौंमा पनि पटकपटक यसबारे कुरा उठ्ने गरेको छ । यसबारे सरकार र पार्टी केन्द्रको पनि नेताहरुले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।’’

मुलुकको अर्थतन्त्रले अनुमति दिन नसक्ने कुराबाहेक संघीय शिक्षा ऐन, संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन सबै अगाडि बढ्ने र चाँडै नै संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले ऐन बन्न ढिला भएका कारण प्रदेश र स्थानीय तहको काममा पनि समस्या आएको सबैलाई जानकारी भएको दाबी गर्नुभयो । उहाँले शिक्षक महासंघ, प्याब्सन, विद्यालय व्यवस्थापन समितिलगायत क्षेत्रको समस्याको सम्बोधन हुने गरी काम अघि बढेको बताउनुभयो ।

कांग्रेस उपसभापति समेत रहेका खड्काले कांग्रेस जनताको सुख र दुःख दुवैमा साथी रहेको बताउनुभयो ।

उहाँले कांग्रेसको सिद्वान्त र विचारसँग जनताको कुनै प्रश्न नरहेको दाबी गर्नुभयो । उपसभापति खड्काले भन्नुभयो, ‘जिम्मेवारीमा रहेका नेताहरुसँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौं ।’’

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter