• Tuesday, April 15, 2025

खाद्य कम्पनीद्वारा धान खरिद सुरु

लक्ष्मी सापकोटा / काठमाडौँ, कात्तिक १५ गते । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो ।

राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा ढिलाइ भए पनि हाल नियमित रूपमा प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । नेपालगन्ज धनगढी क्रमशः धान खरिद सुरु हुने कम्पनीले जनाएको छ । राजपुरका पाँच ठाउँमा खरिद केन्द्र राखेर धान खरिद भइरहेको छ । तराईका जिल्लामा धान ढिला पाक्ने हुँदा अन्य जिल्लाबाट खरिद प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका बिक्री प्रमुख भीम थापाले यो वर्ष समयमै किसानलाई राहत दिन सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद सुरु गरिएको जानकारी दिनुभयो । यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । धान खरिद गर्न एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपियाँ छुट्याएको कम्पनीले जनाएको छ ।

“विगतका वर्षमा खरिद प्रक्रिया ढिला हुँदा लक्ष्य अनुसार खरिद गर्न सकेनौँ,” उहाँले भन्नुभयो, “यस वर्ष समयमै सुरु भएकाले लक्ष्य अनुसार धान खरिद गर्न सक्ने अनुमान गरेका छौँ ।”

समर्थन मूल्यमा धान खरिद गर्न किसानलाई राहत पुग्ने उहाँको भनाइ छ । सरकारले चालु आवका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ तोकेको छ ।

गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ९६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ निर्धारण गरेको छ । चालु वर्षमा धानको समर्थन मूल्यमा वृद्धि गरिएको थियो ।

गत वर्ष कम्पनीले ढिला गरेर लक्ष्य अनुसार खरिद गर्न नसकी १३ हजार मेट्रिक टन धान धरिद गरेको थियो । गत वर्ष समयमै धान खरिद गर्न नसक्दा किसानले व्यापारीलाई धान बिक्री गरिसकेकाले कम्पनीले धान पाउन सकेको थिएन । कृषि सहकारीमार्फत २२ हजार मेट्रिक टन धान खरिद गरिएको थियो । गत वर्ष ९९ करोड १८ लाख रुपियाँ विनियोजन गरी ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेकामा १३ हजार मेट्रिक टन मात्र खरिद गरेको थियो ।

सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार किसानलाई राहत पु¥याउन धान खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । निजी व्यवसायीले सस्तो मूूल्यमा धान खरिद हुँदा किसान मारमा पर्ने हुँदा कम्पनीले धान खरिद गर्ने गरेको जनाएको छ । विभिन्न जिल्लामा किसानले धान थन्काउने काम गरिरहेका छन् । व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्दा किसान मारमा पर्ने गरेका छन् । तराईका जिल्लामा धान थन्क्याउन बाँकी रहे पनि पहाडी जिल्लामा भने धान थन्क्याउने काम सकिन थालेको छ ।

कम्पनीले चालु आवमा ११ जिल्लाबाट ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागेको जनाएको छ । कम्पनीले विभिन्न जिल्लामा किसानबाट धान खरिद गर्न लागेको हो । बिर्तामोडबाट तीन हजार पाँच सय क्विन्टल, विराटनगरबाट चार हजार क्विन्टल, लहानबाट तीन हजार पाँच सय क्विन्टल धान खरिद गर्ने भएको छ ।

यस्तै जनकपुरमा पाँच/पाँच सय, भैरहवामा दुई हजार, नेपालगन्जमा सात हजार मेट्रिक टन, राजापुरमा नौ हजार पाँच सय, धनगढीमा आठ हजार र महेन्द्रनगरमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने कम्पनीले जनाएको छ । यस्तै जुम्लाबाट दुई सय मेट्रिक टन मार्सी धान खरिद गर्ने कम्पनीले जनाएको छ । कम्पनीले किसानबाट धान खरिद गरी आफ्नै मिलमा कुटाएर चामल बिक्री गर्दै आएको छ । कम्पनीले सुपथ मूल्यमा सुगमसँगै दुर्गम जिल्लामा खाद्यान्न वितरण गर्ने गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter