• Tuesday, April 15, 2025

एमालेको चियापान कार्यक्रम; पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरू सहभागी हुनुभएको छ ।

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड अपराह्न पौने ३ बजेतिर सहभागी हुनुभएको हो ।

चियापान कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेताहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूसहितको बाक्लो उपस्थिति रहेको थियो ।

एमालेले बडा दसैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । यस वर्ष (हिजो) कात्तिक १४ गते आयोजना गरिएको सो कार्यक्रम संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिन पछि (आज) सारिएको हो । चियापान कार्यक्रममा एमालेका नेता, कार्यकर्ताहरूको घुइँचो लागेको छ । अध्यक्ष ओलीलाई भेटन ज्येष्ठ नागरिकहरू पनि उत्साहका साथ कार्यक्रममा सहभागी भएका छन् ।

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ ।

नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरूसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन आफूहरू स्पष्ट रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरूले मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भएर कार्यसूचीका आधारमा एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको लक्ष्य मुलुकको समृद्धि भएकाले साझा चासोको विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter