विभिन्न ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष ११४४; नेपाल संवत् नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

काठमाडौं, कात्तिक २८ गते । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।

राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्‍याली निकालिएको हो ।

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट नेपाल संवत् सुरु भएको थियो । पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा नेपाल संवत् चलेको थियो । लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजैदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । यो निर्णय आजैदेखि कार्यान्वयन भएको जनाइएको छ ।

नेपाल संवत् नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् हो भनेका छन् । शंखधर साख्वाः प्रतिष्यठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मध्यपुरथिमिको मौलिक नाम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल संवत् भनेको नेवारहरुको मात्रै संवत् हो भन्ने भ्रम रहेछ, यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो, सबै जातजातीको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवत्प्रति नेपालीले गर्व गर्नुपर्छ ।”

नेपाल संवतलाई स्थापित गर्न नेवार बुद्धिजीविहरुको मुख्य भूमिका रहेको चर्चा गर्दै उनले नेपाल संवतलाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको बताए । उनले नेपाल संवत् सामाजिक न्यायमा आधारित संवत् रहेको चर्चा समेत गरे ।

शंखधर साख्वाःको प्रेरणाबाट आफूले धेरै निर्णय लिएको स्मरण गर्दै प्रधामन्त्री प्रचण्डले भने, “गणतन्त्र स्थापना भएपछि मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको हो, त्यतिबेला नेपालका गरिब किसानको ऋण मोचन गर्न ३० हजारसम्म ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गर्ने निर्णय गरेँ, त्यो निर्णय शंखधर साख्वाःबाट प्रेरणा लिएर गरेको निर्णय हो ।”

उनले हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताउँदै अब प्रत्येक कागजी प्रक्रिया एवं ठाउँमा यो संवत् कार्यान्वयनमा आउने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले आर्थिक सम्बृद्धि र गरिबीको अन्त्य गर्ने नेतृत्व पुष्पकमल दाहाल नेतृत्व सरकारले गर्नुपर्छ भन्दै आजको शंखधर प्रचण्ड बन्नुपर्ने बताए ।

शंखधर साख्वा समाजवादी सांस्कृतिक नायक भएको चर्चा गर्दै मन्त्री किरातीले भने, “धनी र गरिब हुनुहुँदैन सबै समान हुनुपर्छ, ऋणी र साहु हुनु हुँदैन भन्ने मान्यता राख्दै गरिबको ऋण मोचन गर्ने शंखधर साख्वा वर्गीय र जातीय मुक्तिका पक्षपातीसमेत रहेकाले अब प्रचण्ड नेतृत्व सरकारले आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गर्दै आजको शंखधर प्रचण्ड बन्नुपर्छ ।” उनले संस्कृति, पर्यटन मन्त्रालयले शंखधरको नाममा पुरस्कार स्थापना गर्ने घोषणा गरे ।

कार्यक्रममा बागमती प्रदेशका पशुपक्षी मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले नेपाल संवतलाई व्यावहारिक रुपमा सरकारी कामकाजमा लागू गर्ने सङ्घीय सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै बागमती प्रदेश सरकारले पनि नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने निर्णय गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाल संवत् नेपालको आफ्नो मौलिक संवत् भएको भन्दै आफ्नो पार्टीले पनि यसलाई कार्यान्वयनमा ल्याउने बताए । इतिहासको संरक्षणमा जोड दिँदै उनले भने, “जसलाई देख्यो उसैको नाममा चोक, पार्क, गल्ली सडकको नामकरण गर्ने प्रचलन बढेको छ, यसले हाम्रो इतिहास मेटिन्छ, त्यसैले इतिहासलाई जीवन्त राख्न, जथाभावी नामकरण गर्ने बेतिथिको अन्त्य गर्न मौीलक नाम र इतिहासलाई जोगाउनुपर्छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दावेले नेपालको मौलिक पहिचान खोज्नु र स्थापित गर्नु जरुरी रहेको बताए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिले चार सय ५० वटा मौलिक नाम, ठाउँ पहिचान गरेको बताउँदै त्यस्ता मौलिक नामलाई टोलटोलमा स्थापित गर्ने बताए ।

प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले साख्वाःको योगदानलाई नेपालभरिनै प्रचार गर्ने अभियान सुरु भएको बताए । उनले शंखधरको प्रतिमालाई देश विदेशमा स्थापना गर्ने अभियान सञ्चालन भएको भन्दै नेपालका २२ ठाउँमा र अमेरिकाको बाल्टिमोडमासमेत साख्वाःको प्रतिमा स्थापना गरेको बताए ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले ११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल संवत् हटाइ राणाहरुले भारतको विक्रम संवत् लागू गरेको चर्चा गर्दै नेपाल संवत् ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धि हासिल भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले प्रचण्डले मध्यपुरथिमिका मौलिक नामहरु समेटिएको शिलापत्र अनावरण र शंखधर बुलेटिन विमोचन गरेका थिए । त्यसअवसरमा नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र नेपाल संवतको एप्स निर्माण गर्ने सौनक रञ्जीतकारलाई सम्मान गरिएको थियो ।

त्यसैगरी शंखधर पदकसहित सङ्गीतकार रामकृष्ण दुवाल, अभियन्ता गणेश सायमी र नारायण किलम्बुलाई सम्मान गरिएको थियो । रासस

विधिपूर्वक गरियो म्हः (आत्म) पूजा

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ । यो वर्ष नेपाल संवत्को पहिलो दिन गर्ने गरिएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको थियो । यसैगरी एकथरी नेवार समुदायले आज म्हः (आत्म) पूजा गरेका हुन् । अधिकांशले आज म्ह: (आत्म) पूजा गरेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज नै म्ह: (आत्म) पूजा गर्नुपर्ने उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter