तोरी खेतीमा कृषककाे आकर्षण बढ्दो

लिलाराज झापाली / बिर्तामोड, पुस १६ गते । झापा शिवसताक्षीका किसानमा तोरी खेतीमा आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिन थालेसँगै यस क्षेत्रका कृषकहरुको दिनानुदिन तोरी खेतीमा आकर्षण बढदै गएको हो ।

तोरी खेतीलाई प्रवर्द्धन एवम् प्रोत्साहन गर्न स्थानीय तहले समेत अनुदानको कार्यक्रमलाई निरन्तर्ता दिइरहेको शिवसताक्षी नगरपालिकाका प्रमुख रोषन थोप्राले बताउनुभयो ।

यता संघीय सरकारबाट समेत सशर्त अनुदानका रुपमा शिवसताक्षी नगरपालिकालाई मात्रै १० लाख रुपियाँ अनुदान आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । शिवसताक्षी नगरपालिकाले गएको कात्तिक महिनामै तोरी खेतीमा अनुदान दिने सूचना प्रकाशित गरेको थियो । नगरपालिकाले १० विगाह क्षेत्रफलमा तोरी लगाउने कृषकलाई ७५ प्रतिशत अनुदान दिने जनाएको छ ।

हाल नगरपालिकामा तोरी खेतीका लागि १६ समूहबाट निवेदन परेका छन् । नगरपालिकाले छनौटमा परेका १० समूहलाई अनुदान दिने तयारी थालेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिनुभयो । शिवसताक्षीको ४ र ५ वडामा तोरी खेतीका लागि पकेट क्षेत्र मानिएको छ । कनकाई सिचाइँको कारणले पनि तोरी खेतीका राम्रो वातावरण बनेको कृषि साखाका प्रमुख भट्टराईले बताउनुभयो ।

हाल शिवसताक्षी नगरपालिका २, ३,४,५,८,९ र १० मा सामुहिक तोरी खेती गरिएको छ । नगर क्षेत्रभित्र एक सय विगाहमा सामुहिक तोरी खेती गरिएको शिवसताक्षीका कृषि स्नातक प्राविधिक लेनिन शमसेर कुँवरले जानकारी दिनुभयो । अनुदान रकम दश लाखमध्य नगरपालिकाले तोरी खेतीका लागि प्रति समूह तोरी प्रवद्र्धन कार्यक्रममा एक लाख अनुदानका रुपमा दिइएको छ ।

शिवसताक्षी नगरपालिकामा दश हजार हेक्टर खेती योग्य जमिन रहेको बताइएको छ । जसमा सात हजार हेक्टरमा किसानहरुले खेती लगाउने गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

झापामा तोरी खेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरी खेती गरिएकोमा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने आङ्कलन गरिएको छ । यस वर्ष झापाको हल्दिवारीमा सबैभन्दा बढी तोरी खेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, शिवसताक्षी, दमक, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरी खेती गरिएको छ ।

गत वर्षको सुरुआतमै पाँच हजार चार सयमा प्रतिमन बिक्री भएको तोरी यस वर्ष करिब छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति थप आकर्षित भएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter