• Saturday, April 12, 2025

गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा

राधाकृष्ण डुम्रे/अर्जुन काफ्ले / वालिङ, माघ १० गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गठबन्धन अहिलेको आवश्यक्ता भएको भन्दै सभापति देउवाले यसलाई लामो समयसम्म लैजान कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको सदरमुकाममा बुधबार उदघाटन गर्नुहुँदै सभापति देउवाले अहिले कुनै पार्टीको पनि बहुमत आउने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले समानुपातिक निर्वाचन व्यवस्था अङ्गालेका छौं, यो अवस्थामा एक दलको बहुमत आउन धेरै कठिन हुन्छ, त्यसैले गठनबन्धन अनिवार्य रहेको छ ।” पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले युवापुस्तालाई स्वदेशमा नै रोक्न जरुरी रहेको बताउनुभयो ।

स्वरोजगार लगायतका कार्य गरेर उनीहरुलाई यही रोक्नु पर्छ, उहाँले भन्नुभयो । नयाँ व्यवस्था आएसँगै देशमा विकासले गति लिएको भन्दै सभापति देउवाले यही शासन व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो समय महिला, जनजाती तथा पछाडि परेको समुदायलाई विशेष स्थान दिइएको भन्दै उनीहरुलाई अगाडि बढाउन समानुपातिक र समावेशी सिद्धान्त ल्याइएको उहाँको भनाइ छ ।

पहाडी जिल्लामा विकासको नीति बनाउन सुझाव दिनुहुँदै सभापति देउवाले जलस्रोत र स्थानीय स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । कांग्रेस कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सभापति देउवाले कांग्रेसले सवैलाई मिलाएर लैजाने र देशको विकास गर्ने बताउनुभयो ।

सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देशको विकासका लागि कांग्रेस एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले जिल्लाको विकासका विभिन्न पक्षका बारेमा कार्यक्रममा जानकारी गराउनुभएको थियो । सिद्धार्थ राजमार्ग र आँधीखोला हाइड्यामका लागि आफूले पहल गरिरहेको उहाँको भनाइ छ ।

केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको स्याङ्जामा कांग्रेसको संगठन बलियो र सशक्त रहेको बताउनुभयो । आफ्ना बुवा बीपी कोईरालाले “काँग्रेसको संगठन हेर्न स्याङ्जा जानुपर्छ भन्नेगरेको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारी, पूर्व सांसद मोहनप्रसाद पाण्डे, प्रदेश सांसद भोजराज अर्याल लगायतले पार्टीलाई सशक्त बनाउन युवापुस्तालाई विशेष स्थान दिनुपर्ने बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा रहेको सीमित स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढिरहेको बताउनुभयो । काँग्रेस विधानअनुसार चल्ने पार्टी भएको भन्दै मुख्यमन्त्री पाण्डेले सबै पार्टीका सदस्यले आ–आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा काँग्रेस स्याङ्जाका सभापति तथा संघीय सांसद राजु थापा, उपसभापति केदार काफ्ले, सचिवहरु गुरुप्रसाद भट्राई र दामोदर लम्सालले विभिन्न प्रतिवेदनहरु पेश गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter