बैंकले योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ, माघ १० गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।

बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताउनुभयो।

अर्थमन्त्री महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात् आयोजनामा आधारित भएर कर्जा प्रवाह गर्नु आवश्यक रहेको औंल्याउनु भएको हो। अर्थमन्त्री डा.महतले बैंकले प्रोजेक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। उहाँले प्रोजेक्टबेस कर्जामा बैंक जाने हो भने विस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गर्नुभयो।

अर्थमन्त्री महतले भन्नुभयो, ‘‘बैंकहरुले अब धितोमा कर्जा दिने भन्दा पनि प्रोजेक्टबेस कर्जा दिनु आवश्यक छ। प्रोजेक्टबेस कर्जामा बैंक जाने हो भने विस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्छ।’’

मन्त्री डा.महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गर्नुभयो। तर आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गर्नुभयो।

अर्थमन्त्री डा.महत बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गर्नुहुँदै ।

उहाँले मुलुकको आवश्यकता धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बिचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताउनुभयो। उहाँले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको बाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा राम्रो भइसकेको छ। तर सरकारले सोचेको जस्तो भएको छैन। मुलुकको आवश्यकता धेरै छन्। साधन स्रोतहरु थोरै छन्। धेरै आवश्यकताको बिचमा थोरै साधन स्रोत सरकारसँग उपलब्ध भएको हुनाले प्राथमिकिकरण महत्त्वपूर्ण हुन्छ। सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने भन्ने चुनौती छ। त्यसमा विस्तारै सुधार भइरहेको छ। अहिले पर्यटन आगमन अहिलेसम्मकै उच्च छ। अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक छ।’’

उहाँले पर्यटन आगमन वृद्धि भएसँगै होटल वृद्धि भइरहेको भन्दै बैंकले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताउनुभयो। उहाँले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरहेको बताउनुभयो। उहाँले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताउनुभयो। उहाँले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानी पनि बढ्ने अपेक्षा रहेको बताउनुभयो।

कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट-उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताउनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैंकले ठुला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले आफ्ना सम्पूर्ण श्रोतहरूको उच्चतम उपयोग गरी बैंकको समग्र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक कदमहरू चालेको छ भन्नुभयो ।

बैंकका ग्राहकहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न बजारको माग अनुसारको सम्पूर्ण सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले कर्जाको गुणस्तर, कर्मचारीको वृत्ति विकास र दिगो व्यावसायिक विकासका लागि पनि उचित कदमहरू उठाइएका छन् भन्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले २०८० पुस मसान्तसम्म बैंकले ३ खर्ब ३७ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो ।

यसैगरी, पूर्व गभर्नर एवं बैंकका पूर्व कार्यकारी अध्यक्ष डा.तिलक रावल, बैंकमा क्रियाशिल तीनवटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आज भन्दा ५९ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुराउने उद्देश्यका साथ स्थापना भएको यो बैंकसँग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४१ लाख पुगेको छ । भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २८६ शाखा कार्यालयहरु सञ्चालनमा छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

५९ औवार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४७७ जना रक्तदाताहरुले रक्तदान गर्नुभयो । साथै काठमाडौं तथा सातै प्रादेशिक कार्यालयहरुले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरुलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter