नेपालमै छाप्न थालियो हुलाक टिकट

सूर्यप्रसाद पाण्डे / काठमाडौँ, माघ १७ गते । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ ।

यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।

जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ ।

बाँकी ८० लाख थान टिकट छ प्रकारका सामग्री, धार्मिक स्थललगायतको चित्र अङ्कित हुने जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले बताउनुभयो । यसअघि जनक शिक्षाले विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण, माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र र आन्तरिक राजस्व विभागको स्टिकरलगायतका सामग्री पनि छाप्ने गरेको थियो ।

निर्वाचनको समयमा मतपत्र पनि जनक शिक्षाले नै छाप्ने गरेको छ । हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ । जहाँ ३५ कर्मचारी खटाइएको छ ।

यसरी छापिएका टिकटको मूल्य ५, १० र १३ रुपियाँ तोकिएको छ । विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ पर्ने गरेको थियो । जनक शिक्षामा भने ९५ पैसामै छपाइ सम्भव भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वदेशमा छाप्दा हुलाक टिकट छपाइको बर्सेनि विदेशिइरहेको करोडौँ रुपियाँ यतै रोक्न सफल भयौँ । साथै तुलनात्मक रूपमा सस्तो पनि भयो ।”

यसअघि विदेशमा टिकट छपाइ गर्दा ठुलो परिमाण छापिने गरेको थियो । विभिन्न सरकारी कार्यालयमा निवेदन लेख्दा, पत्र पठाउँदा वा अन्य प्रकारको फाराम भरेर बुझाउँदा हुलाक टिकट टाँस्नु अनिवार्य छ ।

तर पछिल्लो समय यस्ता अधिकांश काम अनलाइन माध्यमबाट हुन थालेकाले हुलाक टिकको प्रयोग अत्यन्त कम हुन थालेको छ । स्वदेशमै छापाखाना हुँदा पनि टिकटको प्रयोग अधिकतम हुने र ठुलै परिमाणमा चाहिने बहाना बनाउँदै हुलाक सेवा विभागले त्यतिखेर विदेशमा नै टिकट छाप्ने गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter