तरकारी बेच्न अब्बल थारु महिला

अविनाश चौधरी / धनगढी, माघ १७ गते । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको कुनै दिन छैन । बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे नै गाउँबाट निस्किनुहुन्छ, उहाँ ।

हिउँदमा चिसोसँग लड्दै नौ किलोमिटर पैदल यात्रा गरेर धनगढी बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यही मौका छोपेर ‘तरकारी लेबो, तरकारी लेबो ? (तरकारी लिने)’ भन्दै टोल टोल पुग्नुहुन्छ, अनिता । “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उहाँ भन्नुहुन्छ,“तर, गुजारा गर्न यत्ति त गर्नै पर्‍यो ।”

धनगढी उपमहानगरपालिका–८ की ५७ वर्षीया गुलाबादेवी राना पनि चिसोको परवाह नगरी बिहानै निस्किनुहुन्छ, एक भारी तरकारी बोकेर । उमेर ढल्कनै लागे पनि तरकारी बेच्न जोस गएको छैन । भन्नुहुन्छ,“यसरी दैनिक हिँडेर तरकारी बेचेको कैयौँ वर्ष भइसक्यो । अझै सकुञ्जेल बेच्छुँ ।”

अनिता र गुलाबादेवी प्रतिनिधि पात्र भए पनि उहाँहरू जस्तै धनगढी बजार आसपासका सयौँ महिला हिँड्दै तरकारी बिक्री गर्ने कार्यमा संलग्न छन् । जुनसुकै सिजनमा आफ्नो बारीमा तरकारी खेती गर्ने र उत्पादित तरकारी बेच्ने उनीहरूको दिनचर्या हो । यसरी तरकारी बिक्री गर्नमा अब्बल देखिएका थारु महिलाको कमाइ दैनिक दुई सयदेखि दुई हजार रुपियाँसम्म रहेको छ ।

“कहिलेकाहीँ दैनिक ज्याला पनि निस्किँदैन । तर, बजार मूल्य बढी भएको बेला कुनै दिन दुई हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ”, पथरीकी रामकुमारी चौधरीले भन्नुभयो । उहाँका अनुसार पथरी गाउँबाटमात्रै दैनिक ३०÷४० जना महिला आफ्नो बारीको तरकारी बिक्री गर्न धनगढी बजार आउने गरेका छन् । तरकारी बिक्री गरेर नै गाउँको गुजारा भइरहेको रामकुमारीको भनाइ छ ।

धनगढी बजार आसपासमा जाई, जाली, पटेला, धनगढी गाउँ, घुइयाघाट, बङ्गरा, जुगेडा, मटियारी, पथरी, धुरझन्ना, बेली, कनरी लगायतका गाउँ रहेका छन् । यी गाउँहरूमा बसोबास गर्ने थारु र रानाथारु समुदायका मानिसको आयआर्जनको स्रोत कृषि कार्य नै हो । कृषि पेसामा संलग्न परिवारका प्रायः थारु महिला तरकारी बेचेर परिवार धानिरहेका छन् ।

आफ्नो बारीमा भएको तरकारी अलिअलि बेचेर आएको पैसाले गुजारा गर्न सहज हुने गरेको धनगढी गाउँका रामदुलारी रानाले बताउनुभयो । “तरकारी बिक्री गरेर मैले महिनामा १५ हजार रुपियाँसम्म कमाउने गरेकी छु”, उहाँले भन्नुभयो,“मेरो कमाइले घर खर्च धान्न सजिलो भएको छ ।”

धनगढी बजारमा भारतबाट आयात गरिएको तरकारी सस्तोमा पाइन्छ । त्यसले स्थानीय किसानलाई समस्या गरे पनि गाउँघरको ताजा तरकारी मन पराउने कतिपय मान्छेहरू आफूहरूलाई कुरेर बस्ने गरेको पथरीकी एलिसा चौधरीले बताउनुभयो । “हामीहरू ताजा तरकारी ल्याउँछौँ, त्यसकारण जान्ने बुझ्ने मान्छेले हामीले ल्याएको तरकारी मन पराउँछन्”, उहाँले भन्नुभयो,“जेहोस, यो काम गरेर, निराश हुनु परेको छैन । अलि अलि कमाइ भइहाल्छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter