• Tuesday, April 22, 2025

नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेबाट

काठमाडौं, चैत २ गते । नेपाल र युरोपेली सङ्घ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको छ ।

“युरोपियन युनियन-नेपाल सम्बन्धको पचास वर्ष : सांस्कृतिक विविधताको उत्सव” यस वर्ष महोत्सवको मूल नारा छ ।

युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेटले नेपालसँगको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सृजनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका नेपाली दर्शकहरूसँग आदानप्रदान गर्न महोत्सवको आयोजना गरिएको बताउनुभयाे ।

चलचित्र महोत्सवको उद्घाटन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमामा चैत्र ७ बाट सुरु भएर चैत्र १० सम्म चल्नेछ । महोत्सवको पहिलो दिन मार्टिन म्याकडोनागले निर्देशन गर्नुभएको चलचित्र ‘द ब्यानशीस अफ इनिशेरिन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रसारण गरिनेछ ।

महोत्सवको हरेक स्क्रिनिङमा एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुई वटा फिल्म देखाइनेछ । महोत्सवको लागि लघु चलचित्र छनाेट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । विजेता चलचित्रका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु शरद ऋतुमा ‘ब्रसेल्स’मा आयोजना हुने नेपाली चलचित्रहरुको महोत्सवमा सहभागी हुनेछन् । महोत्सवमा भाग लिने युवा निर्देशकहरूको छनौट भने बाँकी छ ।

यो महोत्सवको लागि १० वटा लघु नेपाली चलचित्रहरु प्रतिस्पर्धामार्फत छनाेट गरिएको थियो । यस्तै, महोत्सव अवधिभर नौ वटा युरोपियन चलचित्र र ११ नेपाली लघु चलचित्र प्रदर्शन हुनेछन् । युरोपियन चलचित्रमा मार्टीन म्याकडोनाग निर्देशित ‘द ब्यानशिस अफ इनिशेरिन’ (आयरल्याण्ड), ‘मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग’ (डेनमार्क), इम्यानुएल परभु निर्देशित ‘मिकादो’ (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित ‘स्कुल गर्लस्’ (स्पेन), एन्टोनियो लुकिच निर्देशित ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’ (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित ‘सरभेन्टस्’ (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानिया, स्लोभाकिया), भिक्टर बोजिनोभल निर्देशित ‘द नेकेड टूथ अवाउट झिगुली ब्याण्ड’ (बुल्गेरिया) र जाइदा बरग्रोथ निर्देशित ‘टोभ’ (फिनल्याण्ड) छन् ।

यसैगरी, महोत्सवमा नेपाली चलचित्रहरु शान्ता नेपाली निर्देशित ‘डाय ड्रिम्स’, गोपाल आचार्य निर्देशित ‘डिभिनेसन्’ (आखत), समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, स्वोयन मास्के मानन्धर निर्देशित ‘द बुल’, ‘द काउ’, ‘द काल्फ’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘रिल’ प्रदर्शन हुनेछन् ।

महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा चलिचत्र प्रदर्शन हुनेछन् । नेपालगञ्जमा अप्रिलमा १५ चलिचत्र प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा महोत्सव हुनेछ ।

‘फिल्म क्रिटिक्स कम्पिटिसन’ (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना हुने भएको छ । प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा र समालोचनालाई ‘फिल्म क्रिटिक्स अवार्ड’ प्रदान गरिने भएको छ । यस प्रतिस्पर्धाका विजेता पनि यसैवर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुने जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter