• Saturday, April 12, 2025

शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै

डोल्पा, चैत १७ गते । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नम्बर ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७ औँ मेला सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो । प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने मेलाले विश्वशान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उपाध्यक्ष गुरुङले बताउनुभयो ।

“यो मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचार हुने अपेक्षा छ”, उपाध्यक्ष गुरुङले भन्नुभयो, “त्यतिमात्र नभई पर्यटकीय सम्भावना बोकेको डोल्पाका पर्यटकीयस्थलको चिनारी स्थापित गर्नेछ ।” रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिङ्गे यिशेको सम्मानस्वरुप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन बुझ्न सकिने आयोजकको भनाइ छ ।

यस ऐतिहासिक मेला हेर्न शे-फोक्सुण्डो गाउँपालिका आउनका लागि उहाँले सबैलाई आग्रह गर्नुभयो । मेलामा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै बौद्ध गुरु क्याब्जे मेन्री पोन्लोप रिन्पोछे र धर्मगुरु क्याब्जे ग्याङ्खाङ खेन्टुल रिन्पोछेले धार्मिक प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी ३७ औँ ड्रिकुङ्ग क्याबगोन चेतसाङ्ग रिन्पोछेबाट फोवा उपदेश दिने सेली डुग्ड्राको परिक्रमा गरिने पनि आयोजकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter