बालुवाटारमा शीर्ष नेताको बैठक; शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १७ गते । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक जारी छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै, नेकपा (एमाले) अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक र संवैधानिक परिषद्का विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषदको बैठक आइतबार बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन् ।

प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषदका सदस्य थिए भने अहिले देउवा सदस्य रहेका छन् ।

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ। रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।

“शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ। सकेसम्म मेरो कोसिस सबै राजनीतिक दललाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कहिले नेपाली कांग्रेससँग नजिक हुँदा एमालेका र एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरूले मन दुखाउनुभएको छ। हामीलाई चाहिएको सुशासन र समृद्धि हो। त्यसका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सकेनौँ भने निकै अप्ठ्यारो स्थितिको सामना हामीले गर्नुपर्नेछ।”

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही मानकहरू स्थापित गर्ने तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवश्यकता के हो भन्ने कुरालाई मुखारित गर्न वर्तमान सरकार प्रयासरत रहेको दाहालको भनाइ छ।

“नयाँ संविधान निर्माणपछि देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा छ। सङ्घीय प्रणालीअनुसार आवश्यक ऐन, कानुनको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको छ। वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्दै आफ्नो आर्थिक समृद्धिको दिशामा अग्रसर हुनुपर्ने चुनौती हाम्रासामु छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो।

तीन तहको सरकारका बिचमा आयोजना छनोटमा देखिएको अराजकता हटाउने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइने पनि उहाँले बताउनुभयो। सरकार पूर्ण स्वतन्त्रताको पक्षमा रहेको तथा सञ्चारमाध्यम र सञ्चारकर्मीको हितका निम्ति प्रतिबद्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले आमसञ्चार माध्यममा सबै जाति, वर्ग, भाषा र समुदायको पहुँच बढ्नेगरी सञ्चार नीतिमा पुनरावलोकन गर्न लागिएको उल्लेख गर्नुभयो।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि आज तीन शीर्ष दलका नेतृत्वबीच छलफल हुन लागेको बताउनुभयो। पूर्वप्रधानमन्त्री ओलीले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो व्यावसायिक सिद्धान्त र धर्म निभाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। पत्रकारिता क्षेत्रमा र मुलुकका विभिन्न राजनीतिक घटनाक्रमका बेला रिपोटर्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको ओलीको भनाइ छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नरहेको बताउनुभयो। नयाँ संविधान जारी हुँदै गर्दा सबै राजनीतिक दलले सेवा प्रवाह सहज बनाउने, आर्थिक सुशासन कायम गर्ने, विकास तथा समृद्धि कायम गर्ने भनेकामा त्यसो हुन नसकेको उहाँको भनाइ छ।

उहाँले कृषि र औद्योगिक क्षेत्र विकास घट्दै गएको भन्दै पुँजीगत खर्च गर्ने क्षमता कम भएको तथा सार्वजनिक संस्थानहरू धरासायी बन्दै गएको बताउनुभयो।

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पछिल्लो समय राजनीतिक नेतृत्वप्रति विश्वास गुम्दै गएको बताउनुभयो। राजनीतिक नेतृत्व कुशासन र भ्रष्टाचारमा लिप्त भएका कारण नागरिकमा नेतृत्वप्रति वितृष्णा बढ्दै गएको आरोप उहाँले लगाउनुभयो।

नेपालबाट ठूलो परिणाममा पुँजी पलायन भइरहेको उहाँको भनाइ थियो।श्रम स्वीकृति लिएर विदेश गएका नेपालीको सङ्ख्याको तुलनामा निकै कममात्र रेमिट्यान्स नेपाल भित्रिएको साहको दाबी छ। हुण्डी कारोबार मौलाएका कारण न्यून रेमिट्यान्स आइरहेको उहाँको भनाइ छ।

जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खाँले सांसदले आफ्नो दलभन्दा माथि उठेर जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। मुस्लिम धर्मालम्बीको पर्व इदको समयमा संसद् नचलाउन पनि उहाँले आग्रह गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सङ्कुचित रहेको अवस्थाबाट बाहिर ल्याउनका लागि निजी क्षेत्रले सरकारसँग समन्वय गरिरहेको बताउनुभयो। उहाँले पर्यटन आगमन र विप्रेषण आप्रवाह बढेको, विदेशी मुद्रा सञ्चिति बढेको, बैंक वित्तीय संस्थामा तरलता पर्याप्त रहेको बताउनुभयो। यद्यपि आम मानिसमा अझै मनोबल बढ्न नसकेको उहाँको भनाइ छ।

“हाम्रा कतिपय विकास आयोजनाको कम खर्चका कारण तथा खर्चको भुक्तानी नभएका कारण र नीतिगत समस्याका कारणले व्यावसायिक गतिविधि चलायमान हुनसकेको छैनन्। बाह्य क्षेत्र सन्तुलित र सकारात्मक हुँदा नियामकीय व्यवस्थालाई केही सहज बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “हामी नकारात्मक कुरामात्रै गर्दा आम मानिसको मनोबल घट्छ, त्यसकारण सकारात्मक भाष्य प्रयोग गरौँ।”

नीतिगत परिवर्तन गर्दा सरकारले निजी क्षेत्रको पनि सुझाव लिइनुपर्ने ढकालले बताउनुभयो। आगामी वैशाखमा आयोजना हुनलागेको लगानी सम्मेलनमा निजी क्षेत्रको तर्फबाट विभिन्न कानुनी सुधारका लागि सुझाव दिएको र ती कानुन द्रुतगतिमा संशोधन गरिनुपर्ने उहाँको भनाइ छ। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter