• Tuesday, April 15, 2025

एक लाख ३० हजार चल्ला उत्पादन

गजेन्द्र गुरुङ / खजुरा, चैत २९ गते । बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले यो आर्थिक वर्षमा एक लाख ३० हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ ।

लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मले हासम्ममा एक लाख ३० हजार बढी विभिन्न जातका लोकल प्रजातिका कुखुराका चल्ला उत्पादन गरेको हो ।

कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा. सुमन खनालले यो आर्थिक वर्षमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा हालसम्म एक लाख ३० हजार चल्ला उत्पादन गरिएको जानकारी दिनुभयो ।

“चल्ला उत्पादनमा यो वर्ष हाम्रो एक लाख ५० हजारको लक्ष्य हो, हालसम्म एक लाख ३० हजार उत्पादन भइसक्यो, बैशाख दोस्रो सोमबारसम्म हाम्रो लक्ष्य पूरा हुने देखिन्छ” उहाँले भन्नुभयो, “यो वर्ष लक्ष्यभन्दा बढी उत्पादन हुने देखिएको छ ।”

गतवर्ष लक्ष्यभन्दा कम चल्ला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । “गत वर्ष दुई लाख ५० हजारको लक्ष्य रहेकोमा एक लाख ९० हजार चल्ला उत्पादन भए” डा. खनालले भन्नुभयो, “बजेटको व्यवस्थालगायत अन्य कारणले गर्दा गत वर्ष लक्ष्य मिट भएन ।” बजेटको व्यवस्था अनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उहाँको भनाइ छ ।

कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला ब्रुडर किसानमार्फत् वितरण गर्ने व्यवस्था मिलाएको प्रबन्धक खनालले जानकारी दिनुभयो । हप्ताको एक दिन सोमबारका दिन कृषकलाई सिधै फार्मबाट एक दिने चल्ला र कार्यालयको समन्वयमा ब्रुडर किसानमार्फत् हुर्किएका चल्ला बिक्री गरिने व्यवस्था मिलाइएको बताउनुभयो ।

फार्मबाट वितरण गरिने एक दिने चल्लालाई प्रतिचल्ला ४५ रुपियाँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा ब्रुडर किसानले बिक्री गर्दैआएको उहाँले जानकारी दिनुभयो । ब्रुडर किसानबाट ४ देखि १२ हप्तासम्मका चल्ला वितरण हुने डा. खनालले बताउनुभयो ।

फार्ममा हाल न्यू हेम्पसायर भाले २ सय २२ र पोथी एक हजार ९१८ गरी दुई हजार १४०, ब्लाक अष्ट्रालोप जातको भाले ३७ र पोथी २ सय ८९ गरी तीनसय २६, खजुरा साकिनी भाले ६४ र पोथी ४ सय ३६ गरी पाँचसय, घाँटी खुइले भाले १९ र पोथी ७६ गरी ९५, शुद्ध कालो भाले १४ र पोथी १ सय ०८ गरी एकसय २२, कालिज भाले ५८ रहेका छन् ।

त्यस्तै, पोथी ५७ र चल्ला १ सय २१ गरी दुई सय ३६, प्वाँख उल्टे भाले ६, पोथी ९ र चल्ला १ सय ५३ गरी एकसय ६८, साकिनी भाले दुई र पोथी ११ गरी १३ र अन्य जातको भाले ७२ गरी जम्मा तीन हजार ६७२ कुखुरा रहेको डा. खनालले जानकारी दिनुभयो ।

फार्मबाट चल्ला मात्र नभएर अण्डासमेत उत्पादन तथा बिक्री हुँदैआएको छ । यो आर्थिक वर्षको हालसम्म दुई लाख ५ हजार ५१० अण्डा उत्पादन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक लाख ५० हजार ७७५ वटा अण्डा चल्ला उत्पादनका लागि प्रयोग भएको, ३९ हजार ८ ओटा राम्रो र नौं हजार ९७ वटा चर्केको अण्डा बिक्री वितरण गरिएको छ ।

राम्रो खालको प्रतिअण्डा नौं रुपियाँ र चर्केको अण्डाको प्रतिअण्डा छ रुपियाँमा बिक्री गरिँदैआएको छ । हालसम्म चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट ७० लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको फार्म प्रबन्धक डा. खनालले जानकारी दिनुभयो । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter