आर्थिक सर्वेक्षण: प्रदेशको आर्थिक वृद्धिदर बढ्ने; वैदेशिक रोजगारीका लागि ५९ लाखले छाडे नेपाल

काठमाडौँ, जेठ १३ गते। चालु आर्थिक वर्षमा सबै प्रदेशको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा बढ्ने देखिएको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८७ प्रतिशतभन्दा माथि रहने सरकारको अनुमान छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा पेश गरेको आर्थिक सर्वेक्षणमा हिउँदे बाली र नगदे बाली तथा पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिको फलस्वरूप कृषि क्षेत्रको उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ ।

यस्तै, गैरकृषि क्षेत्रतर्फ उत्पादनमूलक उद्योग र निर्माण बाहेक अन्य क्षेत्रको उत्पादन बढ्ने अनुमान छ । फलस्वरूप, चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढ्ने अनुमान छ ।

गत आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको उत्पादन क्रमशः २.७६ प्रतिशत र २.१३ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा धानको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ ।

कुल परिवारमध्ये कृषि कार्यमा संलग्न परिवार ६२ प्रतिशत रहे पनि कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान पछिल्ला वर्षमा क्रमशः घट्दै गएको छ । सेवा क्षेत्रको योगदान बढ्दै गएको छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.०९ प्रतिशत, १३ प्रतिशत र ६२.९० प्रतिशत रहने अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहँदै आएको छ । चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोग ९२.४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचत ७.४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ७.६ प्रतिशत पुग्ने अनुमान छ ।

पुँजीगत खर्च र कर्जा प्रवाहमा सुधार हुन नसक्दा कुल लगानी अपेक्षित रूपमा बढ्न सकेको छैन । चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

गत आर्थिक वर्ष कुल स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको २५.१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २४.५ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति आय बढ्दै गएको छ । चालु आर्थिक वर्षमा एक हजार चार सय ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ८९ अमेरिकी डलर थियो ।

वित्तीय संघीयता कार्यान्वयन भएपछि सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण संघीय सरकारको चालु खर्चमा लेखांकन भएकोले पुँजीगत खर्चको हिस्सा वार्षिक औसत १८.२ प्रतिशत मात्र रहेको छ ।

प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान ती तहबाट पुँजी निर्माणमा समेत खर्च हुने हुँदा वास्तविक पुँजीगत खर्चको आकार भने तीन तहको एकीकृत खर्चको करिब एक तिहाइ रहेको छ ।

वैदेशिक रोजगारीका लागि ५९ लाखले छाडे नेपाल

नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएका छन्। अर्थमन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ।

यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन्। जसमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन्।

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपिएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरीया गएका छन्।जसमध्ये पुरुष ९३.२ प्रतिशत र महिला ६.८ प्रतिशत रहेका छन्।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेसिया, साउदी अरब, युएई र कुवेत रहेका छन्। पछिल्लो अवधिमा युएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दो क्रममा रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter