• Thursday, May 29, 2025

सरकार परिवर्तनले नयाँ आशा र भरोसा जगाएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको बताउनुभएको छ।

नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलबार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

‘‘सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ। तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरुमा पनि जगाएको छ र सिङ्गै देशलाई पनि जगाएको छ’’, उहाँले भन्नुभयो।

भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो। ‘‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ त्यतिकै प्रधानमन्त्री हुनका लागि होइन, प्रधानमन्त्री त म पहिले पनि भइसकेको थिएँ’’, उहाँले भन्नुभयो।

प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उहाँले बताउनुभयो। देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति आफूले काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अघि प्रधानमन्त्री हुँदा यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पार्नुभयो।

‘‘कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्यारासँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू पनि मसँग छन्, आज कतै पनि त्यस्तो स्थिति छैन, आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन, हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति छैन’’, उहाँले भन्नुभयो।

अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुल भत्किने र त्यसबाट जनधनको क्षति भएको उहाँले बताउनुभयो। नेपालको भौगोलिक स्थितिले यस्ता कुरा रोक्न कठिनाइ भइरहेको उहाँले प्रष्ट पार्नुभयो । आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले बताउनुभयो।

हिजो मात्रै मन्त्रिपरिषद् बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको उहाँले बताउनुभयो। त्यसलाई गृहमन्त्रीले गम्भीरतापूर्वक लिएर काम गरिरहनुभएको उहाँले सुनाउनुभयो। प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा गर्ने भन्ने विषयमा तयारी भइरहेको ओलीले बताउनुभयो। उहाँले गतवर्षको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको आवास निर्माणको लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिनुभयो।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने बताउनुभयो।

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई तीन सय दिनभित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने निर्णय भएको बताउनुभयो। मन्त्रिपरिषद् बैठक औपचारिक बैठक मात्र भएको बताउँदै उहाँले अब मन्त्रालयगत हिसाबले विकासको कामलाई कसरी अघि बढाउने भन्ने कुरा देखाउने प्रष्ट पार्नुभयो।

सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter