• Tuesday, April 08, 2025

महानगरको नमुना उद्यमद्वारा उत्पादित बस्तु बिक्रीमा

काठमाडौँ, असोज ५ गते । काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरूबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ । यसका लागि गएको भदौ ३० गते महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा भएको सम्झौतामा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अम्पायर भेन्चरका कार्यकारी निर्देशक निरुसा राजभण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताबमोजिम असोज ४ गतेदेखि नमुना उद्यमबाट उत्पादित बस्तु तथा सामग्रीको बिक्री तथा प्रवर्द्धनका स्टल राख्न सुरु भएको छ । सम्झौता १ वर्षका लागि हो । यस अवधिमा हरेक शुक्रबार र शनिबार स्टल राखिनेछ । स्टलका लागि स्थान निःशुल्क हो ।

शुक्रबार १७ वटा स्टल राखिएका थिए । उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार १५ वटा वडाबाट छनोट भएका नमुना उद्यम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं. ६ र १४ एक एक वटा समूह गरी १७ वटा समूहका स्टल छन् ।

भेन्चर्सका कार्यकारी निर्देशक निरुशा राजभण्डारी भन्नुहुन्छ, ‘हामीसँग २० वटा स्टल राख्न सक्ने क्षमता छ ।’ महिला उद्यमीको उत्पादन प्रवर्धन गर्न महानगरपालिकासँग सहकार्य गर्न पाएका छौँ । यसबाट महिलाहरूको आर्थिक उपार्जनमा सुधार हुने अपेक्षा गरेका छौँ । राजभण्डारीको अपेक्षा राख्नुभयो ।

महानगरपालिकाको वडा नं. १ र ३० को नमुना उद्यम गुन्द्रुक र मस्यौरा हो । यस्तै, वडा नं. २ को मस्यौरा र तितौरा, वडा नं. ३ र ४ को फेल्टको सामान बनाउने, वडा नंं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं. ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमुना उद्यमका रूपमा छानिएको छ ।

वडा नं. ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं. ९ को रुद्राक्षको माला र धूप बनाउने, वडा नं. १० को मस्यौरा र अचार बनाउने, वडा नं. १२ को सुकुल बनाउने, वडा नं. १६ को काष्ठकला, वडा नं. २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं. २२ को जुत्ता बनाउने, वडा नं. २४ को ब्याग बनाउने र वडा नं. ३२ को अचार बनाउने उद्यमलाई नमुनाका रूपमा छानिएको छ ।

यीमध्ये वडा नं. ५ मा उद्यमका लागि प्रविधि हस्तान्तरण भएको छ । यो उद्याम विकासको अर्को चरण हो । वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरू उत्पादन हुन थालेपछि यसको प्रवर्द्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गरिएको हो ।

सानासाना उद्यम विकास कार्यक्रमबाट उत्पादित स्वदेशी सामानले आयात गरिएका सामानलाई विस्थापन गर्दै लैजान, यस प्रक्रियामा महिलाहरूलाई सहभागी गराएर उनीहरूको आर्थिक उपार्जन वृद्धि गराउन ‘एक वडा, एक नमुना उद्यम’ कार्यक्रम थालिएको हो । उत्पादित सामानको बिक्री र प्रवर्द्धनका लागि बिक्री केन्द्र स्थापना गरेर बजारीकरण थालिएको हो ।

महानगरपालिकाले यसअघि पनि सङ्ख्यात्मक रूपमा धेरै तालिम सञ्चालन गरिसकेको छ । त्यसरी तालिम लिएकामध्ये थोरै मात्र उद्यमी भएका थिए । बाँकीले भेटेसम्म तालिम लिए तर सिपयुक्त हुने क्षमता विकास गरेनन् । विगतको त्यो गलत पद्धतिलाई रूपान्तरण गर्दै यसपटक भने आवश्यकताका आधारमा तालिम दिने र तालिम लिएकालाई उद्यमी बन्न प्रोत्साहन गर्ने कार्यक्रमलाई महत्त्व दिइएको छ ।

यसलाई विकास र विस्तार गर्दै ‘नेपाल उत्पादन मेला’ आयोजना गर्ने, त्यसभित्र पनि ‘काठमाडौँ उत्पादन’को छुट्टै स्थान बनाउने महानगरपालिकाको योजना छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter