• Monday, June 09, 2025

वैकल्पिक खेतीतर्फ आकर्षण

वालिङ, असोज ६ गते । स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको चापाकोट र गल्याङ नगरपालिका तथा बिरुवा गाउँपालिकाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

पालिकाको सहयोगमा कृषकले परम्परागत रूपमा लगाउँदै आएको धान, मकै, गहुँ, तरकारी बाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ चासो देखाएका हुन् । ‘काष्ठ फल उत्पादन’ कार्यक्रमलाई पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजना (नाफा) ले सहयोग गर्दै आएको छ । पालिकाको आयोजना र परियोजनाको सहयोगमा कार्यक्रम सुरु भएको हो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बाँदरले नखाने वैकल्पिक खेतीका रूपमा कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नटलगायतका खेती गर्न कृषकलाई प्रोत्साहन अभियान सुरु गरिएको जानकारी दिनुभयो । कृषकले स्वःस्फूर्त रूपमा उखु, सयपत्री फूल, अदुवा, बेसार, सिउँडीफललगायतका खेती गर्दै आएको भए पनि पालिकाले नै विशेष कार्यक्रम चलाएर फरक प्रकृतिको खेती सुरु गराउन लागेको हो ।

एक पटक हुर्काएपछि धेरै मेहनत गर्नु नपर्ने, उत्पादन लागत कम लाग्ने, पहाडी क्षेत्रको हावापानी मिल्ने, लामो समयसम्म उत्पादन दिने भएकाले काष्ठफल खेती गर्न कृषकलाई प्रोत्साहित गरिएको प्रमुख भट्टराईले बताउनुभयो । बाँदरले हैरान पाएका कृषकलाई काष्ठ फल खेतीले आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै जीवनस्तर उकास्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

चापाकोटमा लिची खेतीको व्यावसायिक रूपमा सुरु गरिएको भन्दै नगरप्रमुख ईश्वर खाँणले तल्लो र माथिल्लो क्षेत्रमा विभाजन गरेर कृषकलाई काष्ठफलतर्फ आकर्षित गरिएको बताउनुभयो ।

परियोजनाका गण्डकी प्रदेश अधिकृत विष्णु शर्माले नर्सरीदेखि लिएर फलफूलको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र उत्पादित फलफूलको मूल्य अभिवृद्धि गर्ने काममा नाफा प्रोजेक्टले सघाउने बताउनुभयो । उहाँका अनुसार फलफूलसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रत्येक कृषकले कम्तीमा पनि चार रोपनी जग्गामा फलफूल खेती गर्नुपर्ने छ । चार रोपनीभन्दा कम तर कम्तीमा दुई रोपनी जग्गा हुने कृषक ‘कृषक पोषण पाठशाला’ कार्यक्रममार्फत तरकारी तथा अन्य पौष्टिक स्थानीय बालीको खेतीसम्बन्धी कार्यक्रममा सहभागी हुन सक्ने परियोजनाले जनाएको छ । यस्तै सर्त पूरा भएका कृषकले ५० प्रतिशत अनुदान प्राप्त गर्न सक्ने छन् ।

एसियाली विकास बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र नेपाल सरकारको ऋण तथा अनुदान व्यवस्थापनमा देशभरका एक सय स्थानीय तहका लागि नौ करोड ३४ लाख ५० हजार रुपियाँ बजेट विनियोजन भएको छ । आयोजना ३४ जिल्लाका एक सय वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दै छ भने गण्डकी प्रदेशका १० जिल्लाका ३४ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter