बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २०४ पुग्यो



काठमाडौँ, असोज १४ गते । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ ।

गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

एनआरएनएले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार राति बसेको संघको बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभागका प्रमुख डा. हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन समेत दिएको छ ।

समितिमा संघका विभिन्न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमिल्सना संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरो पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् ।

गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन् ।

उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए ।
‘अहिले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको छु’ उनले भने ।

भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए । बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् ।
अर्बौं रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए ।
त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।
कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए ।

त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् ।

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।
रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् ।

उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरू सो बापत् केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता दिएका थिए ।



Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter