प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण; यस्तो छ एनपिएल ट्रफीको विशेषता


काठमाडौँ, मङ्सिर १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।

यस्तो छ एनपिएल ट्रफीको विशेषता

नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ । कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको क्रिकेटलाई थप उचाइ दिने काम नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरिरहेको छ ।

घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन र खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले क्यानको आयोजनामा यही मङ्सिर १५ गतेदेखि त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना हुँदैछ ।

विश्वका स्तरीय फ्रेन्चाइज लिगको अवधारणालाई पछ्याउन क्यानले आफ्नै अग्रसरतामा एनपिएल आयोजना गर्न लागेको हो । नेपालको भौगोलिक र सांस्कृतिक परिदृश्यलाई समेत समेट्ने गरी विभिन्न सहर र प्रदेशको नाममा आठ वटा फ्रेन्चाइज टोलीले एनपिएलमा प्रतिस्पर्धा गर्दैछन् ।

एनपीएलको माहौलसँगै साेमबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट एनपिएल ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण भएको छ । प्रधानमन्त्री ओलीले आठवटै टोलीका मार्की खेलाडीको रोहवरमा धरहरालाई साक्षी राखेर ट्रफीको अनावरण गर्नुभएको हो ।

क्यानले एनपिएललाई विश्वको सगरमाथा जस्तै उच्च बनाउन ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुङ्गा राखेर थप महत्त्व बढाएको छ । ट्रफीको सार्वजनिकसँगै सामाजिक सञ्जालमा यसको चर्चा थप चुलिएको छ ।

एनपिएलका संयोजक एवं क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदा सगरमाथाको संरक्षण र प्रवर्धन गर्न विश्वमा सन्देश दिने उद्देश्यले ट्रफीमा कालापत्थरको ढुङ्गा राखिएको बताउनुभयो ।

‘‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुङ्गा नै ट्रफीको मुख्य आकर्षण हो । यसले विश्व सम्पदाको सूचीमा रहेको संसारकै अग्लो सम्पदाको संरक्षण र प्रवर्धन गर्नेछ । साथै एनपिएलको माध्यमबाट पर्यटनमा सहयोग पुग्ने आशा राखेका छौँ,’’ पारसले भन्नुभयो । ट्रफीमा प्रयोग गरिएको ढुङ्गा पर्वतारोही निमा शेर्पा र मिङमा शेर्पाले कालापत्थर क्षेत्रबाट काठमाडौँ ल्याउनुभएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाकाअनुसार एनपिएल ट्रफीलाई सिम्बोलका रूपमा सगरमाथाको उचाइसरह ८८४८.८६ मिटर उचाइ दिइएको छ । करिब तीन किलो तौल रहेको ट्रफी भारतको मुम्बई सहरका कालीगढले बनाएका हुन् । साधारण धातु (मेटल) प्रयोग गरी बनाइएको यस ट्रफी रनिङ ट्रफीको रूपमा एनपिएलमा प्रयोग हुनेछ । क्यानले विजेतालाई यस्तै स्वरूपको प्रतिकृति (रिप्लिका) ट्रफी प्रदान गर्नेछ । क्यानले ट्रफीको लागत मूल्य भने खुलाएको छैन ।

आकर्षक ट्रफीको अनावरणसँगै नेपालको खेल पर्यटन, सांस्कृतिक धरोहर तथा नेपाली खेलकुदको पहिचान र गौरवको प्रतीकका रुपमा एनपिएलले थप उचाइ लिने क्यानको विश्वास छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपिएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच भिडन्त हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter