पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन


काठमाडौँ , मङ्सिर १४ गते । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ । गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए ।

पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तिसपुतलीबाट पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाममा बस्नुभएका सुरेश नेपालले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका यस्ता सामग्री हेर्ने रहरले आफू आएको बताए । यस्ता सामग्री भावी पुस्ताका लागि पनि सुरक्षित गरिनुपर्ने उनको सुझाव छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोग लिएर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो । मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन देशभरबाट धेरै भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउने अवसर पारेर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाउने परम्परा सुरु भएको कोषले जनाएको छ ।

बत्ती बाल्न आउनेको पशुपति क्षेत्रमा घुइँचो

मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति आज पशुपतिनाथमा बत्ती बाल्न आउने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । बत्ती बेलुकी बाल्ने भए पनि रातभर बसेर महादीप दान गर्न उपयुक्त स्थानको खोजीमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । कति भक्तजन त बिहीबार राति पशुपति क्षेत्र आइपुगेको कोषका प्रवक्ता अधिकारीले उल्लेख गरे । उनका अनुसार सबैलाई सहज रूपमा बसेर बत्ती बाल्न सक्नेगरी सबै व्यवस्थापन गरिएको छ ।

आज रातभर बत्ती बाली शनिबार बिहान वाग्मतीमा सेलाएर भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्छन् । यसो गरेमा दिवङ्गत पितृले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशीको सबै तयारी पूरा भएको पनि कोषले जनाएको छ ।

बत्ती बाल्न शुल्क नलाग्ने पनि कोषले स्पष्ट पारेको छ । रातभर बत्ती कुरेर बस्न नसक्ने भक्तजनका लागि मात्र कोषले आफैँ रसिद काटेर रु दुई हजार एक सय लिने सदस्य सचिव डा मिलनकुमार थापाले बताए । आफैँ बत्ती कुरेर बस्ने भक्तजनका लागि भने कुनै शुल्क नलाग्ने उनले जानकारी दिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter