• Saturday, April 05, 2025

परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्री वाङबिच भेटवार्ता


काठमाडौँ, मङ्सिर १४ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शुक्रबार भेटवार्ता भएको छ। चीनको छन्दु सहरमा शुक्रबार अपराह्न उहाँहरुबिच वार्ता भएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार चीन पुग्नुभएको हो।

परराष्ट्रमन्त्री डा. राणाको निजी सचिवालयका अनुसार उहाँहरुबिच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ।

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गर्नुभएको थियो।

मन्त्री डा राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो।

त्यसैगरी नेपाल–चीनबिचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो।

पछिल्लो समयमा नेपाल र चीनबिच उच्चस्तरीय भ्रमणको आदानप्रदान भइरहेको र यी भ्रमणले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो।

सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझ्दारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो।

त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ।

सो भेटपछि परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल चीन सम्बन्धमा नयाँ उचाई थपेको र दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताउनुभयो।

भेटका क्रममा दुई देशबिचको सदियौँ पुरानो सम्बन्ध, नेपालको आर्थिक सामाजिकलगायतका क्षेत्रमा चीनले पुर्याउँदै आएको सहयोग, आगामी दिनमा पनि सहयोग र सहकार्यका नयाँ क्षेत्रको पहिचानका साथै आर्थिक विकासका लागि सहकार्यलाई प्राथमिकता दिने बारेमा कुराकानी भएको थियो।

सो वार्तामा मन्त्री डा. राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, चीनको छन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनुहुन्थ्यो। यसैबिच आजै साँझ चिनियाँ विदेशमन्त्री वाङले मन्त्री डा. राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो।

सो भोजमा सहभागी हुँदै मन्त्री डा. राणाले प्रधानमन्त्री ओली र आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेकामा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिनुभयो। त्यस अवसरमा उहाँले दुई देशबिच सरकारस्तरमा मात्र नभएर जनता जनताबिच धेरै पुरानो र सुमधुर सम्बन्ध रही आएको चर्चा गर्नुभयो। मन्त्री डा. राणा भोलि शनिबार नेपाल फर्कनुहुने कार्यक्रम छ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter