मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन

काठमाडौँ, माघ २८ गते । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ ।
त्यस्तै अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे राष्ट्पतिको कार्यालयमा सरुवा भएका छन् । मन्त्रिपरिषद बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिनाअघि सरुवा भएका उपाध्याय त्यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव थिए । त्यहाँ चार महिना जिम्मेवारी सम्हालेपछि अख्तियारमा सरुवा भएको थियो ।
त्यसअघि उपाध्यायले सहसचिव हुँदा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएर काम गरेका थिए भने बागमती प्रदेशको प्रमुख सचिवको भूमिका निभाएका थिए । उनले ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हालेका थिए ।