प्राकृतिक ग्यास आयात गर्न नेपाली कम्पनीलाई भारतले दियो अनुमति


कल्पना घिमिरे / काठमाडौँ । भारतीय आयल निगम कर्पोरेसन (आईओसी)ले एक नेपाली कम्पनीलाई वार्षिक २४० मेट्रिक टन लिक्विफाइड प्राकृतिक ग्यास (एलएनजी) आयातको अनुमति दिएको छ ।

बुधबार आइओसीले नेपालको योग्य होल्डिङ कम्पनीसँग वार्षिक २४० मेट्रिक टन एलएनजी ग्यास आयातका लागि सम्झौता गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार उक्त ग्यास आयात गर्न योग्य होल्डिङ्सले चार वर्षदेखि पहल गरिरहेको थियो । तर, नेपाल आयल निगमले तत्काल आयात गर्न अनुमति दिएको थिएन । आईओसीले भने २०८१ वैशाखमै अनुमति दिइसकेको थियो ।

‘नेपालबाट अनुमति पाउन ढिला भयो, भारतीय आयल निगम कर्पोरेसनबाट २०८१ वैशाखमा अनुमति पाइसकेको हो,’ घिमिरेले भने, ‘भारतीय आयल निगम कर्पोरेसनले आयातमा प्राविधिक सहयोग गर्ने सम्झौता गरेको छ ।’

यसपछि मंसिर ७ गते उद्योग विभागले योग्य होल्डिङ्स प्रालिलाई ग्यास आयात गर्ने अनुमति दिएको थियो ।

नेपाल आयल निगमले आयात गर्ने अनुमतिसहित कम्पनी दर्ता गर्न आग्रह गरेपछि निजी उद्योग दर्ता गरेको थियो । यस्तो ग्यास आयातका लागि नेपालमा पहिलोपटक निजी क्षेत्रले अनुमति पाएको घिमिरेको दाबी छ ।

बारामा ग्यास उद्योग

शुवम् घिमिरे र सौरभ भण्डारीले संयुक्त रूपमा सञ्चालन गर्न लागेको ‘योग्य होल्डिङ्स’ उद्योगमा करिब एक अर्ब लगानी छ । सो उद्योग बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ मा निर्माण थालिएको छ । हाल उद्योग निर्माणमा आवश्यक मेसिनरी खरिद प्रक्रिया थालिसकिएको अध्यक्ष शुवमु घिमिरेले बताएका छन् ।

उद्योगले आफ्नो निजी जग्गामा प्लान्ट निर्माण थालेको छ । पहिलो चरणमा प्लान्ट निर्माणमा आवश्यक मेसिनरी सामग्री आयात भइरहेको छ ।

सो प्लान्टमार्फत लिक्विफाइड प्राकृतिक ग्यासलाई कम्प्रेस्ड प्राकृतिक ग्यास (सीएनजी) मा कन्भर्ट गरिन्छ । यसपछि सिलिन्डरमा भरेर उद्योगहरूलाई बिक्री– वितरण गरिने घिमिरेले बताएका छन् ।

के मा प्रयोग हुन्छ ग्यास ?

हाल यो ग्यास आयातको मुख्य लक्ष्य औद्योगिक प्रयोजन हो । डिजेल, कोइलाबाट सञ्चालित कार्बन फ्याँक्ने संसारभरका धेरै उद्योगहरूले प्राकृतिक ग्यास प्रयोग गर्न थालिसकेका छन् । नेपालमा पनि यस्तो ग्यास प्रयोग गर्न सके निकै फाइदाजनक रहेको घिमिरे तर्क गर्छन् ।

जानकारहरूका अनुसार लिक्विफाइड ग्यास नेपालजस्तो देशका लागि धेरै फाइदाजनक छ । पछिल्लो समय विश्वमा जलवायु परिवर्तनको असर बढ्दो छ । त्यसलाई न्यूनीकरण गर्न यो ग्यास निकै उपयोगी हुन सक्छ ।

यो ग्यास विश्वमा सबैभन्दा सस्तो र वातावरणीय हिसाबमा राम्रो मानिन्छ । जसको प्रयोग औद्योगिक प्रयोजनमा धेरै भएको पाइन्छ । खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको खपत घटाउन तत्काललाई यसले मद्दत त गर्दैन तर, भविष्यमा प्रयोग भने गर्न सकिन्छ । साथै सवारीसाधन चलाउन पनि सकिन्छ ।

तर, छैन मापदण्ड

यस्तो ग्यास आयात गर्ने अनुमति पाए पनि कानुनी व्यवस्था भने नभएकाले आयात गर्न समस्या हुने अध्यक्ष घिमिरे तर्क गर्छन् ।

हालसम्म यसको मापदण्ड नभएकाले आयात गर्न लामो समय लाग्न सक्ने उनले बताए ।

मापदण्ड नै नभएकाले कसले बनाउने भन्ने सरकारले निर्धारण गरिदिनुपर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट बताउँछन् । ‘सुरक्षाको विषय हुन्छ, मापदण्ड आवश्यक छ । सरकारले बना भन्यो भने बनाइदिन्छौँ,’ मापदण्ड भने सरकारले तोकिदिनुपर्ने उनले बताए । भने, ‘वाणिज्य आपूर्ति मन्त्रालयले बनाउने हो कि गुणस्तर विभागले बनाउने हो । तोकिदिइसकेपछि मापदण्डको कुरा आउँछ ।’ साभार : रातोपाटी

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter