• Saturday, May 24, 2025

भेरीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण


गजेन्द्र गुरुङ / खजुरा, वैशाख ९ गते । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौँको सहकार्यमा मङ्गलबारदेखि उक्त सेवा अस्पतालमा पहिलोपटक सुरु भएको हो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको जानकारी दिनुभयो । मेसु सुवेदीका अनुसार मङ्गलबार पहिलो दिन दुई जना बिरामीलाई मिर्गौला सफलरुपमा प्रत्यारोपण गरिएको छ । यो सेवासँगै भेरी अस्पताल लुम्बिनी प्रदेशमै पहिलो मानव अङ्ग प्रत्यारोपणको सेवा दिने अस्पताल बनेको उहाँले बताउनुभयो ।

“मङ्गलबारबाट भेरी अस्पतालमा पहिलोपटक मानव अङ्ग (मिर्गौला) प्रत्यारोपण सेवा सुरु भएको छ । यो सेवा लुम्बिनी प्रदेशमै पहिलो हो, मङ्गलबार सुरुको दिन दुईजना मिर्गौलाका बिरामीमा सफलरुपमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।” मेसु सुवेदीले भन्नुभयो, “सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आएका डा. पुकारचन्द्र श्रेष्ठको टोलीसहित भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ सर्जन डा. दीपेश गुप्ता र युरो सर्जन डा.अञ्जित फुयाँलसहितको विशेषज्ञ चिकित्सकको टिमले मिर्गौला प्रत्यारोपण गरेको छ ।”

त्यसैगरी, नेफ्रोलोजीतर्फ डा.सौरभ हमाल र डा.पारस श्रेष्ठसहितको कार्डियोलोजिष्ट, रेडियोलोजिष्ट जस्ता विशेषज्ञ चिकित्सकको आवश्यक जनशक्ति पनि साथमै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्व १४-१५ जना विशेषज्ञ चिकित्सकको टोली नेपालगन्ज आएको हो । मानव अङ्ग प्रत्यारोपणका लागि अस्पताललाई स्वास्थ्य सेवा विभागले गत चैत २८ गते अङ्ग प्रत्यारोपण समन्वय समितिको बैठक बसेर सहमति दिने निर्णय गरेको र वैशाख ५ गते सहमतिको पत्र अस्पतालमा प्राप्त भएको उहाँले जानकारी दिनुभयो । त्यसअघि केन्द्रबाट एउटा टोली भेरी अस्पताल आएर स्थलगत अनुगमन, अवलोकन तथा निरीक्षण गरेर काठमाडौँ फर्किएको थियो ।

सुरुको दिनमा मङ्गलबार दुईजना बिरामीलाई मिर्गौला प्रत्यारोपण गरे पनि अबदेखि हरेक महिनामा एक जनामा मिर्गौला प्रत्यारोपण गर्ने योजना बनाइएको अस्पतालका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले जानकारी दिनुभयो । उहाँले केही समयसम्म मानव अङ्ग प्रत्यारोपण केन्द्रले सहयोग गर्ने र त्यसपछि अस्पतालकै टिमले काम गर्ने योजना रहेको बताउनुभयो ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा नयाँ अपरेशन थिएटर तयार गरिएको पनि उहाँले बताउनुभयो । यसका साथै मिर्गौला ग्रहण गर्ने र दिने दुवै व्यक्तिका लागि छुट्टै क्याबिन पनि तयार गरिएको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी रिसालका अनुसार एकैपटकमा दुई जना बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्न मिल्ने गरी चार शय्याको आइसियु वार्ड सञ्चालन गरिएको छ । दुई शय्या बिरामीका लागि र दुई शय्या मिर्गौला दाताका लागि गरी चारवटा आइसियु बेडसहितको वार्ड सञ्चालनमा ल्याइएको हो ।

मङ्गलबार पहिलो दिन बाँसगढी नगरपालिका वडा नम्बर ८ बर्दियाका ३७ वर्षीय पुरुष र औरही नगरपालिका २ महोत्तरीका ४० वर्षीय पुरुषलाई सफलतापूर्वक मिर्गौैला प्रत्यारोपण गरिएको अस्पतालका मेसु डा.सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवैजना बिरामीलाई उहाँहरुका श्रीमतीले मिर्गौला दान गर्नुभएको थियो । यसअघि एक जना बिरामीले भेरी अस्पतालमै डायलाइसिस गराउँदै आएको र अर्को एकजना बिरामीले काठमाडौँमा डायलाइसिस गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

दुई जनामा मिर्गौला प्रत्यारोपण गर्न दिनभर जसो लागेको थियो । बिहान करिब १० बजेदेखि सुरु गरिएको मिर्गौला प्रत्यारोपण कार्य बेलुका ७ बजे सफलताका साथ सम्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दुईजना बिरामी तथा दुईजना दाता चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कानुनी प्रक्रिया पूरा गर्नका लागि अस्पतालका एकजना फिजिसियिन चिकित्सक (डाक्टर)को संयोजकत्वमा चार सदस्यीय मानव अङ्ग प्रत्यारोपण स्वीकृति समिति गठन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अस्पतालका तर्फबाट एकजना कानुनी सल्लाहकार (वकिल), जिल्ला प्रशासन कार्यालयका तर्फबाट एकजना अधिकृतस्तरको कर्मचारी र अस्पतालका तर्फबाट एकजना अधिकृतस्तरको कर्मचारी उक्त समितिमा रहेका छन् । यो समितिले सिफारिस गरेमात्र मिर्गौला प्रत्यारोपण हुने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter