• Thursday, May 22, 2025

साइकल लेनसहित सौराहा सडक


शालिग्राम नेपाल / चितवन, वैशाख १० गते । चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ । रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट पूर्वतर्फ बछ्यौली जाने दुई सडकलाई सौन्दर्यीकरण गरिएको हो ।

सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरमातहतमा दुई खण्डमा अलग अलग निर्माण कम्पनीले सडक निर्माण गरेका छन् । साइकल लेन, फरकिलो फुटपाथ, कालोपत्रेसहितको सडक निर्माण भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । करिब तीन किलोमिटर लम्बाइको सडक निर्माणपछि सौराहाको मुहारै फेरिएको पर्यटन व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव महेश खनालले भन्नुभयो, “अहिले निर्माण भएको सडकले यहाँ आउने पर्यटकलाई मात्र नभएर सौराहाको मुहारमा नयाँ रौनक थपेको छ । चित्रसारी पुलको दायाँबायाँ रेलिङ निर्माण, वन्यजन्तुको आकृतिसँगै आकर्षक सडकबत्ती, प्रवेशद्वार, साइकल लेनसहितको सडक र फुटपाथले यहाँको सौन्दर्य वृद्धि भएको छ ।”

चित्रसारी पुलदेखि सौराहाको प्रवेश बिन्दुसम्म एक किलोमिटरका लागि तीन करोड १७ लाख ५४ हजार ७२४ रुपियाँ बजेट खर्च भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका इन्जिनियर सुदन खतिवडाले जानकारी दिनुभयो । यहाँ ढुङ्गा बिछ्याएर फुटपाथ निर्माण गरिएको छ । योसँगै साइकल चलाउनका लागि अलग्गै लेन निर्माण भइसकेको छ । दुवैतर्फ सडकमा आकर्षक पुटपाथ निर्माण गरिएको उहाँले बताउनुभयो । यसका लागि भरतपुरको शिवम् निर्माण कम्पनीले ठेक्का पाएको थियो ।

त्यस्तै गरी सौराहाको अन्तिम बिन्दु राप्ती नदीकिनारदेखि पश्चिम प्रकृति संरक्षण कोष हुँदै बछ्यौलीसम्मको करिब दुई किलोमिटर सडक पनि निर्माण भइसकेको छ । यो सडक पर्यटकमैत्री खुला फुटपाथ, साइकल लेन र फराकिलो सडकलाई रङ्गरोगन गरिएको छ । लोहनी एन्ड सन्स भरतपुरले निर्माण गरेको यो सडकको लागत १६ करोड ४८ लाख ४८ हजार ८२८ रुपियाँ रहेको इन्जिनियर खतिवडाले जानकारी दिनुभयो ।

सडक निर्माणले यहाँको सौन्दर्यमा मात्रै होइन, साइकल चढेर सौराहा क्षेत्र घुम्नका लागि पर्यटकलाई धेरै सजिलो भएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो, “सौराहा हाम्रो मात्र होइन, यो स्वदेशी र विदेशी पर्यटकको केन्द्र पनि हो । यहाँ आउने पर्यटकलाई आनन्द हुने गतिविधि र उहाँहरूले चाहेको सुविधा पाउने अवस्था निर्माण हुनु आवश्यक छ, ।” विगतमा भन्दा अहिले सौराहाको रौनकै फेरिएको छ । यहाँ आउने जोकोहीले नयाँ अनुभव प्राप्त गर्न सक्ने स्थानीयको भनाइ छ ।

राप्ती नदीकिनारमा निर्माण गरिएको डिजिटल बोर्डले यहाँको सूचना दिने गर्छ । कुन स्थानमा के छ भनेर राप्तीकिनारको डिजिटल बोर्डमार्फत जानकारी पाउन सकिने भट्टराईले भन्नुभयो । राप्तीकिनारमा बाँध निर्माण गरेर त्यहीँबाट सूर्यास्त, नदीमा खेल्दै गरेका घडियाल गोही, चरा, पुरानो पदमपुरको फाँटलगायत हेर्न सकिने सहज व्यवस्था मिलाइएको छ । सौराहाका आकर्षक सडकको विक्रम संवत् २०७९ माघ २८ गते निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले २०८१ भित्रै निर्माण सम्पन्न गरेको हो । गोरखापत्र

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter