• Friday, May 23, 2025

मकैको खोस्टा र थाकलको पातबाट आत्मनिर्भर बन्दै महिला


सिराज खान / नेपालगन्ज, वैशाख १२ गते। बाँकेको राप्ती सोनारी गाउँपालिकाका महिलाले सुकेको मकैका खोस्टा र वन जङ्गलमा पाइने थाकलको पातबाट फूल लगायत विभिन्न आकर्षक सामग्री बनाएर आत्मनिर्भर बन्दैछन्।

राप्ती सोनारी–६ का महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन मकैका खोस्टा र थाकलको पातबाट फूल लगायत विभिन्न सामग्री बनाउने तालिम दिएकोले तालिमपछि उनीहरुले सामग्री बनाएर आत्मनिर्भर बन्न थालेका हुन्।

राप्ती सोनारी–६ का वडा अध्यक्ष लबराज खरेलले गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा र थाकल प्रयोग गर्न नजान्दा खेर गइरहेकोमा तालिम पाएपछि महिलाले यी खेर गएका वस्तुलाई संकलन गरी आकर्षक सामग्री तयार पारेको बताउनुभयो।

उहाँका अनुसार वडा कार्यालयको सहयोग र सहयोगी मन बाँकेको आयोजनामा १० दिनसम्म चलेको आकर्षक सामग्री निर्माण तालिममा महिलाले प्राकृतिक रेसाजन्य वनस्पतिको प्रयोग गरी हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी ज्ञान र सीप हासिल गरेका छन्।

तालिम लिएर महिलाले टोपी, झोला लगायतका सामग्री उत्पादन गर्न सक्ने भएकोले अहिले उनीहरुले उत्पादन गरेका सामग्रीले राम्रो बजार पाइरहेको वडा अध्यक्ष खरेलको भनाइ छ।

सहयोगी मनकी अध्यक्ष इन्दिरा शाहीले कच्चा सामग्री खरिदमा रकम खर्च गर्न नपर्ने र गाउँघरमा भने जति सामग्री पाइने भएकाले यो सीप महिलाका लागि अति उपयोगी रहेको बताउनुभयो। सहयोगी मनले १५ जना महिलालाई यो सीप प्रदान गरेकोले सीप सिकेका महिला व्यावसायिक उत्पादनमा लागेका छन्।

सहयोगी मनकी उपाध्यक्ष पूर्णिमा थापाले सीप र ज्ञान नहुँदा गाउँमा पाइने वस्तुको उपयोग हुन नसकेकोमा अब हातमा सीप भएपछि आवश्यक सामग्री आफैँ तयार पार्न सक्ने हुँदा महिलालाई सहज भएको बताउनुभयो।

स्थानीय मैना थारुले गाउँघरका जङ्गलमा थाकल र मकैका खोस्टा प्रशस्त हुने भएकाले सामग्री खरिदमा खर्च गर्न नपर्ने र सीप सिकेकोले घर सजावटका लागि विभिन्न आकर्षक सामग्री आफैँले बनाउन सकेको बताउनुभयो।

राप्ती सोनारी–६ का वडा अध्यक्ष खरेलले उत्पादित हस्तकला सामग्री वडाले खरिद गरिदिने र उत्पादनका आधारमा अनुदान दिन पहल गर्ने बताउनुभयो। उहाँले आयआर्जनमूलक क्षेत्रमा प्रोत्साहन गर्न वडा कार्यालयले विभिन्न सीपमूलक तालिम दिइरहेको र महिला आत्मनिर्भरतर्फ अगाडि बढाएको बताउनुभयो।

वडाले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मकैका खोस्टा र थाकलबाट फूल बनाउने तालिमका साथै मेहन्दी लगाउने तालिम पनि प्रदान गरेको जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter