• Thursday, June 12, 2025

राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज

चाँदनी हमाल / काठमाडौँ, पुस २६ गते। नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर त्यो बनाउन अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको नम्बर लिने विषयमा भने आमनागरिकमा अन्योल छ । विद्युतीय राहदानी बनाउन आवश्यक राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा अभियान नै थालेको छ । आफ्नो स्थायी बसोबास गर्ने जिल्ला प्रशासन कार्यालय तथा विभागले सञ्चालन गरेको अतिरिक्त स्थानबाट सहजै परिचयपत्रको नम्बर हासिल गर्न सकिने विभागले जनाएको छ ।

जसरी नागरिकता बनाउँदा जिल्ला प्रशासन कार्यालयमा फाराम भरिन्छ, त्यसैगरी परिचयपत्रका लागि फाराम भर्नुपर्छ । विभागका महानिर्देशक तीर्थराज भट्टराईले भन्नुभयो, “तर त्यसमा अनुहारसहितको डिजिटल फोटो र अन्य बायोमेट्रिक विवरण पनि समावेश गर्नुपर्छ ।” जसअन्तर्गत दसवटै औँलाको छाप, डिजिटल हस्ताक्षर, आँखाको रेटिनाको पहिचानलगायत व्यक्तिका नयाँ पहिचान स्पष्ट खुलाउनुपर्ने हुन्छ ।

त्यति कुरा कप्युटरमा स्पष्ट खुलाएर दर्ता गरेपछि १० अङ्कको नम्बर प्रदान गरिन्छ । त्यो नम्बर नै राष्ट्रिय परिचयपत्रको नम्बर हो । योबाहेक जिल्ला प्रशासन कार्यालय र अन्य तोेकिएको डेस्कबाट कागजी फाराम भर्ने झन्झटबाट जोगिन अनलाइनबाट फाराम भर्न सकिन्छ । त्यसलाई अनलाइन इनरोलमेन्ट भनिन्छ ।

घरमै बसेर विभागको अनलाइन सुविधा उपयोग गरी नागरिकतामा भएर सरहको आफ्नो वास्तविक व्यक्तिगत विवरणको फाराम भर्न सकिने विभागका निर्देशक तथा सूचना अधिकारी युवराज कटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यति गरेपछि जिल्ला प्रशासन वा अन्य डेस्कमा पुगेर कागजी फाराम भर्ने र लाम लाग्नुपर्ने समय जोगिन्छ । सीधै फोटो खिच्न र बायोमेट्रिक विवरण भर्नका लागि जान सकिन्छ ।”

त्यसपछि पाइने १० अङ्कको नम्बर टिपेर आउनुपर्छ । त्यो अङ्क नै विद्युतीय राहदानी बनाउनका लागि दिनुपर्ने विवरण हो । आमनागरिकले राष्ट्रिय परिचयपत्रको नम्बर भनेको सिङ्गै राष्ट्रिय परिचयपत्रको कार्ड हो भनेर बुझेकाले समस्या आइरहेको उहाँले औँल्याउनुभयो । जिल्ला प्रशासन कार्यालयबाहेक अन्य १७ वटा इलाका प्रशासन कार्यालयमार्फत पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । काठमाडौँमा रहेका उपत्यकाबाहिरका नागरिकका लागि राहदानी विभागको नारायणहिटीस्थित कार्यालय, सरकारी कार्यालयका कर्मचारीका लागि पुरानो गृह मन्त्रालयको कार्यालयमा थप डेस्क राखिएको छ । यीबाहेक स्थानीयवासीका लागि जो जहाँको बासिन्दा हो, त्यहीँको प्रशासन कार्यालयमा गएर बनाउन भनिएको छ ।

सरकारको पन्ध्रौँ आवधिक योजनाले गेमचेन्जर योजनाका रूपमा अघि सारेको हो । मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी प्रचलनको अभियानसँगै राष्ट्रिय परिचयपत्रको अभियानसँगै चलेको छ । जसअनुसार हालसम्म ५२ लाख नागरिकको विवरण पछिल्लो समय सङ्कलन गरिएको छ । हाल सङ्कलन गरिएको विवरणअनुसारको राष्ट्रिय परिचयपत्र वितरणका लागि त्यसको छपाइ प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

काठमाडौँमा सुरु हुँदै
विभागले काठमाडौँ उपत्यकाका स्थानीय पालिकामा पनि राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यक्तिगत विवरण सङ्कलन अभियान सुरु गर्ने भएको छ । जसका लागि विभागले अन्तिम तयारी गरिरहेको छ । महानिर्देशक भट्टराईका अनुसार सुरुवातमा काठमाडौँको शङ्खरापुर र दक्षिणकालीको स्थानीय पालिकाबाट विवरण सङ्कलन र परिचयपत्र नम्बर प्रदान गर्ने कार्य सुरु गरिँदैछ । सकेसम्म सोमबार यी दुई स्थानबाट अभियानको सुरुवात गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

उपत्यका १० नगरपालिकामध्ये हालका लागि दुईवटा इलाकामा विवरण सङ्कलन गर्ने तयारी विभागले गरेको हो । बाँकी आठ इलाका नगरपालिका क्षेत्रमा स्थापना गरिनेछ । काठमाडौँ महानगरपालिकामा भने थप चारवटा ब्लक बनाएर अभियान बृहत् बनाइने तयारीमा विभाग रहेको छ । जहाँबाट कम्प्युटरको राष्ट्रिय सञ्जाल जोड्न सकिन्छ, त्यस्ता स्थानको पहिचान र व्यवस्थापन गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter