• Saturday, June 14, 2025

विपत सम्बन्धी योजना र प्रतिकार्य लैङ्गिक समानतामैत्री हुनुपर्ने

अविनाश चौधरी / धनगढी, पुस ५ गते । विपत सम्बन्धी योजना र प्रतिकार्य लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण मैत्री हुनुपर्ने सरोकारवालाले बताएका छन् ।

युएन वुमन, युनिसेफ, महिला कानुन र विकास मञ्चलगायतका संस्थाले मङ्गलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । उनीहरूले विपत न्यूनीकरणका सवालमा महिलालाई पनि नेतृत्वदायी भूमिका दिइनुपर्नेमा जोड दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले महिलालाई विभिन्न तालिममा सहभागी गराउन आवश्यक रहेको बताउनुभयो । यसैगरी, हाम्रा विभिन्न संरचना पनि लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणमैत्री हुनुपर्ने उहाँको भनाइ थियो ।

‘यस सम्बन्धी नीति, कार्ययोजना सङ्घले बनाएर प्रदेश र स्थानीय तहलाई दिइनु पर्दछ’, बेस्राले भन्नुभयो ।

कैलालीका नदीनालामा बाढीको जोखिम रहेकाले जोखिम न्यूनीकरणका लागि टुक्रे योजनाभन्दा पनि ‘मेगा प्रोजेक्ट’ सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । यसैगरी, जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउन आवश्यक रहेको बताइएको छ ।

‘भजनीमै राज्यको लगानी प्रत्येक वर्ष खेर गइरहने र प्रभावितहरूले दुःख पाइरहने अवस्था छ’, बेस्राले भन्नुभयो, ‘दिगो समाधान खोज्ने हो भने बस्ती स्थानान्तरण गर्न आवश्यक छ ।’

लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणका लागि धेरै ऐन, कानुन बने पनि कार्यान्वयन नभएको महिला अधिकारकर्मीको गुनासो छ । बनेका कानुनहरू कागजमा सीमित रहेको उल्लेख गर्नुहुँदै अधिकारकर्मी सावित्री घिमिरेले महिलालाई अझै पनि लाभग्राही वर्गको रूपमा लिने धारणा विद्यमान रहेको बताउनुभयो । सरकारी निकायहरूमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण फोकल पर्सन राख्ने गरिए पनि त्यो देखाउनका लागि मात्रै रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण स्रोत व्यक्ति रिना चौधरीले प्राधिकरणले लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सम्बन्धी कार्य योजनाको मस्यौदा तयार पारिसकेको जानकारी दिनुभयो । ‘त्यो कार्य योजना तयार भएमा प्रदेश सरकार र स्थानीय सरकारलाई पनि उपलब्ध गराउनेछौँ’, उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter