• Sunday, June 08, 2025

काठमाडौंका सडक छेउमा पार्किङ निषेध, भ्यु टावरमा पार्किङ सुरु

विष्णु पाण्डेय / काठमाडौँ, जेठ २ गते । काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । महानगर प्रमुख बालेन्द्र साहको एक वर्षको प्रयासपछि अहिले महानगर भित्रका सडकमा पार्किङ निषेधित बनेका छन् ।

साह गतवर्ष मेयरमा निर्वाचित भएपछि महानगरभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । जथाभाबी फुटपाथ हटाउने र बेसमेन्ट पार्किङलाई व्यवस्थित बनाएपछि महानगरले यसअघि सडक छेउछाउ हुने अव्यवस्थित पार्किङ हटाएको हो । महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेका अनुसार महानगरको एक वर्षको लामो कसरतपछि अव्यवस्थित पार्किङ हटाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, महानगरमा मेयरको रूपमा बालेन्द्र साह निर्वाचित भएपछि नै अव्यवस्थित पार्किङलाई हटाउने योजना बनाउनुभएको थियो । सोही अनुसार काम हुँदै जाँदा एक वर्षमै अव्यवस्थित पार्किङ हटाइएको छ । उहाँका अनुसार महानगरको अव्यवस्थित पार्किङ हटाउन र बेसमेन्ट खाली गराउन ठुलो सङ्घर्ष गर्नुपरेको थियो ।

महानगरपालिकाले हालसम्म दुई दर्जन बढी स्थानको सडकबाट पार्किङ हटाइसकेको उहाँ बताउनुहुन्छ । काफ्लेका अनुसार बागबजार, बानेश्वर, शङ्खमूल, प्रदर्शनीमार्ग, नारायण चोक, चाबहिल बत्तीसपुतली, कालीमाटी,कलङ्की, त्रिपुरेश्वर, माछापोखरी, कुलेश्वर, सोल्टीमोड लगायतका ठाउँमा सडक छेउछाउ हुने पार्किङलाई हटाइएको छ ।

यस्तै महानगर प्रहरी प्रमुख राजु पाण्डेयका अनुसार महानगरभित्रका बेसमेन्टहरुको व्यवस्थापनबाट नै सडकका छेउछाउमा पार्किङ निषेधित गर्न सफल भएको हो । उहाँका अनुसार विगतमा महानगरसँग भूमिगत पार्किङको स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका स्थानलाई समेत पार्किङ स्थानमा परिणत गरिएको हो ।

उहाँले भन्नुभयो, “महानगरसँग भूमिगत पार्किङको स्वीकृति लिएर अन्य प्रयोजनमा धेरै स्थान थिए। त्यसलाई हामीले खोजी खोजी पार्किङ स्थल बनायौँ । त्यस कारण अहिले सडकमा पार्किङ निषेधित गर्न सफल भइएको हो ।” उहाँका अनुसार अहिले काठमाडौंका अधिकांश व्यापारिक कम्प्लेक्स, बैङ्क, अस्पताल, सरकारी कार्यालय लगायत सबै ठाउँमा पार्किङको व्यवस्था छ ।

भ्यु टावर सञ्चालनमा

काठमाडौं महानगरले पार्किङ लागि पुरानो बसपार्कमा बनाएको भ्यु टावर सञ्चालनमा आएको छ । निर्माणाधीन उक्त टावरको बेसमेन्ट पार्किङ लागि खुला गरिएको महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेले बताउनुभयो ।

अहिले दुई तलाको बेसमेन्ट पार्किङमा पार्किङ खुल्ला गरिएको उहाँले बताउनुभयो । उक्त खुल्ला गरिएको पार्किङ स्थलमा दुई हजार बाइक र ५०० कार अट्ने क्षमता रहेको उहाँको भनाइ छ । तत्काल बसको लागि भने पार्किङ खुल्ला नगरिएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter