• Sunday, June 15, 2025

खाना पकाउने ग्यासको आयातमा उल्लेख्य कमी

लक्ष्मी सापकोटा / काठमाडौँ, साउन १३ गते । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।

गत आवमा ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपियाँ बराबरको पाँच लाख ३५ हजार ८६५ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको विभागको तथ्याङ्क छ । एक वर्षमा बजारमा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । नेपाल आयल निगमका अनुसार मासिक ग्यासको खपत ४२ हजार ६८१ मेट्रिक टन हुने गरेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको जानकारी दिनुभयो । विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उहाँको भनाइ छ ।

निगमका अनुसार विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशत दरले बढ्ने गरेकामा गत आवमा भने खपत सुरुदेखि नै घट्दै गएको हो । नेपालमा खपत हुने कुल ग्यासमध्ये ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि प्रयोग हुने गरेको बताइएको छ । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उहाँको भनाइ छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ ।

बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिनुभयो । आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उहाँको भनाइ छ ।

औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा विशेष गरी सिसा उद्योग, छड र फलाम उद्योगमा प्रयोग हुने गर्छ । यी उद्योगमा फर्नेस आयलको प्रयोग हुने गरेकामा फर्नेस आयल महँगो हुँदा ग्यासको प्रयोग हुने गर्छ । ग्यास प्रयोग हुने उद्योगहरू आर्थिक मन्त्रीका कारण पूर्ण रूपमा चल्न नसक्दा खपतमा कमी आएको व्यवसायीको भनाइ छ । बजारमा विद्युत्को प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा कमी भएसँगै आयातसमेत खस्किन थालेको छ । ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएको पाइन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ७९० रुपियाँ रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter