• Saturday, May 31, 2025

भ्रष्टाचार र तस्करीविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री

काठमाडौं, साउन १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ ।

आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी सङ्गठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने क्रम नरोकिने बताउनुभएको हो ।

उहाँले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पत्ति दोहन, शोषण र बेथितिहरूका विरुद्धमा जेहाद छेडिरहेको बताउनुभयो । यहाँले सरकारको यो कदम निरन्तर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारका अरू फाइलहरू पनि खुल्दै जाने बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारले थालेको यस लडाइमा आम जनताको पनि साथ आवश्यक भएको भन्दै साथ दिन आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘जसरी अहिले भ्रष्टाचार विरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिका विरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएकै छ । म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहीँ रोकिनेवाला छैन । यो कदम निरन्तर अगाडि बढ्नेवाला छ । नेपाल राष्ट्रको एकताको निम्ति, समाजवादको आधार निर्माणको निम्ति, सामाजिक न्यायको निम्ति, समृद्धि र विकासको निम्ति यो लडाइँ नेपाली जनताले जित्नैपर्दछ । यो लडाइँ नजितेसम्म हामीले परिकल्पना गरेको, हामीले सपना देखेको समाजवादको आधार तयार हुनै सक्दैन । त्यसकारण यो कुनै आवेगको कुरा होइन । यो कुनै राजनीतिक स्टन्टको कुरा पनि होइन ।’’

आउने दिनमा हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेवाला छन्

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो नेपाली समाज र नेपाल राष्ट्रको, आम नेपाली जनताको बृहत्तर हित जो हिजो युद्धमा या आन्दोलनमा नेपाली जनताले त्याग र तपस्या, वीरता र बलिदानका कीर्तिमान कायम गरेका थिए । ती हजारौँ शहीदहरू, बेपत्ता योद्धाहरू, घाइते, अपाङ्गहरू र लाखौँ, करोडौँ जनताका सपना साकार पार्ने लडाइँ हो । यो लडाइँ सुरु भएको छ । मलाई खुसी छ, तपाईँहरू जस्तो युवा, विद्यार्थीहरूले यो विषयमा, यो पक्षमा सरकारलाई, समाजवादी मोर्चालाई र गठबन्धनलाई जुन समर्थन गर्नुभएको छ, आउने दिनमा हेर्दै जानुहोला अरू फाइल खुल्दै जानेवाला छन् । त्यतिबेला तपाईँहरूको समर्थनको महत्त्व निकै ठुलो हुनेवाला छ । ग्राउन्डमा समर्थन प्राप्त नभईकन, एक्लै सरकार वा प्रधानमन्त्रीले मात्रै जितिने लडाइँ यो होइन । आम जनता पनि साथमा भएपछि मात्रै यो ब्याटल हामीले जित्नेछौँ ।’’

प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारको विरुद्ध लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत गरिएको बताउनु भयो । उहाँले समाजवादी मोर्चाका नेताहरूका बीचमा पनि भ्रम सिर्जना गर्ने र आशङ्का उत्पन्न गर्ने षड्यन्त्र भइरहेको भन्दै आफूहरू एकताबद्ध भएर षड्यन्त्रलाई परास्त पार्ने बताउनुभयो । उहाँले मोर्चामा विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडी बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले भ्रष्टाचार विरोधी या बेथिति र विसङ्गतिका विरुद्ध लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि समाजवादी मोर्चाका नेताहरूका बीचमा पनि भ्रम सिर्जना गर्ने, आशङ्का उत्पन्न गर्ने अनेक खालका कसरतहरू भइराखेका छन् । तर हामी ती सबै षड्यन्त्रहरूलाई परास्त गर्दै हाम्रो आफ्नो एकतालाई अझ बलियो पार्दै एकअर्का प्रतिको विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडी बढ्नेमा हामी नेतृत्व पङ्क्ति दृढ भएको कुरा पनि म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । सरकार अहिले जनताको साथमा, सरकार अहिले युवा, विद्यार्थीहरूको साथमा, सरकार अहिले नेपाल राष्ट्रको बृहत्तर हितको पक्षमा लडाइँ लड्दैछ तपाईँहरूको साथ आओस् ।’

प्रधानमन्त्री दाहालले मङ्गलबार बस्ने मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताउनु भयो । ऐनले शिक्षा क्षेत्रका समस्याहरूलाई समाधान गर्ने उहाँको भनाइ छ । उहाँले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पनि मङ्गलबारसम्ममा नियुक्त हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘‘म आज तपाईँहरूको अगाडि प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु, पर्सि मङ्गलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटी सङ्घीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ । मलाई लाग्छ यो निकै गुणात्मक प्रकृतिको कदम हुनेछ । यसले शिक्षा क्षेत्रमा अहिले देखा परेका थुप्रै समस्यालाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्नेछ । दोस्रो कुरा, त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष खालि भएको धेरै समय भयो । त्यो पनि पर्सिसम्म आयोगको अध्यक्ष तपाईँहरूले पाउनुहुने छ ।’’

उहाँले शिक्षा क्षेत्रमा खाली रहेका ठाउँहरूमा पदपूर्ति गर्ने बताउनुभयो । उहाँले समाजवादी शिक्षाको सुरुवात गर्ने नयाँ प्रक्रिया अगाडि बढाइने पनि बताउनुभयो ।

सुशासनका कदमले जनतामा उत्साहको नयाँ रक्तसञ्चार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, साउन १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताउनुभएको छ ।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।’

यस सन्दर्भमा म सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter