• Saturday, June 14, 2025

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन; राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २६ गते । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उहाँको बाटोमै निधन भएको जनाइएको छ ।

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा नै उहाँको शरीर चिसो भइसकेको थियो ।

डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो ।

वाथरुम जाने क्रममा उहाँ ढल्नु भएको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उहाँको बाटोमै निधन भएको थियो ।

डा. महर्जनले भन्नुभयो, ‘‘ हाम्रो अस्पतालको ठूलो टिमले निकै अथक प्रयास गरेको थियो, तर उहाँको बाटोमै निधन भएकाले बचाउन सम्भव भएन ।’’

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय

सरकारले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधान सभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिनुभयो ।

मन्त्री किरातीका अनुसार सरकारले उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । संविधान सभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेपाल सरकारले नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै स्वर्गीय नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसात् गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास राखेको छ ।

मन्त्रिपरिषद् बैठकले दिवङ्गत नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter